२०८१ आश्विन २१ गते, सोमबार १७:०५
  • सैनामैना र पण्डितपुरलाई लुम्बिनी विकास क्षेत्रमा समेट्न प्रस्ताव

    तिलौराकोटलाई यसै वर्ष विश्व सम्पदामा सुचिकृतको प्रस्ताव दर्ता गरिने

    लुम्बिनी -कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेसको लागि यसैवर्ष प्रस्ताव दर्ता गरिने भएको छ। लुम्बिनी विकास कोषको परिषद बैठकमा पेश भएको कोषको नीति कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदाको सूचीमा सुचिकृत गरिने उल्लेख छ। सुचिकृतको लागि सन २०२४ अर्थात यसै वर्षमा प्रस्ताव दर्ता गर्ने कोषका प्रशासकिय अधिकृत ज्ञानिन राइले बताए।

    नीति कार्यक्रममा नवलपरासी पश्चिमको पण्डितपुर र रुपन्देहीको सैनामैनालाई पनि लुम्बिनी विकास क्षेत्रमा समेट्न प्रस्ताव गरिएको छ। ‘पण्डितपुर र सैनामैना पुरातात्वीक हिसाबले अत्यन्त महत्वपूर्ण छ।’ राइले भने ‘ति दुईवटा क्षेत्रलाई हाम्रो लुम्बिनी विकास कोषको क्षेत्रभित्र पार्नलाई सरकारलाई अनुरोध गर्ने कुरा भएको छ।’

    हाल लुम्बिनी विकास क्षेत्रमा १० वटा साइटहरु उल्लेख छ। रुपन्देहीमा लुम्बिनी र देबदह, कपिलबस्तुका ७ वटा साइटहरु तिलौराकोट, गोटिहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, अरौराकोट, कुदान र नवलपरासी पश्चिमको रामग्राम रहेको कोषको ऐनमा उल्लेख छ ।

    यी बाहेक सरकारले राजपत्रमा सूचना प्रकाशित गरि थप क्षेत्र तोक्न सक्ने लुम्बिनी विकास कोष ऐनमा भनिएको छ। पण्डीतपुरसँगै सैनामैनामा ऐतिहासीक सम्पदा फेला परेकाले उचित संरक्षण र प्रवद्र्धनको लागि कोषमा समेट्न प्रस्ताव गरिएको राइले बताए। कोषमा समेटिएपछि स्थानिय सरकारसँग मिलेर सहकार्य गरेर सम्पदा संरक्षण गरिने उनको भनाइ छ।

    कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीको अध्यक्षतामा सोमबार लुम्बिनी विकास कोषको परिषद बैठक बसेको थियो। बैठकमा पेश भएका नीति कार्यक्रम माथि परिषद सदस्यहरुले आ आफ्ना सुझाबहरु राखेका थिए। ति सुझाबलाई समेटेर संसोधन सहित पारित गरिने राइले बताए।