२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • फूलबारीमा नयाँ कार्यसमितिको पदस्थापन

    जीतगढी र फूलबारीलाई जोडेर विश्व सम्पदामा सूचीकृत गर्न पहल गरिने

    बुटवल -मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) बुटवलको निर्वाचित नयाँ कार्यसमितिले शुक्रबार पदभार ग्रहण तथा सपथ लिएका छन्। समितिमा हालै सम्पन्न भएको १५ औं साधारणसभा तथा ५ औं अधिवेशनले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ऐतिहासिक र पुरातात्विक क्षेत्रसँग जोडिएको फुलबारीलाई चिनाउन धेरै काम गर्न बाँकी रहेको बताए। पाण्डेयले जीतगढी र फूलबारीलाई जोडेर विकास गर्न विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने जानकारी दिए।

    बुटवलकी उपप्रमुख सावित्रादेवी अर्यालले फूलबारीसँग धेरै वर्ष पुरानो इतिहास जोडिएकाले यसको थप प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने बताइन्। बुटवललाई पर्यटकीय नगर बनाएर पर्यटक भुलाउन यसले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ।

    नवनिर्वाचित अध्यक्ष माधवप्रसाद नेपालले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षको केन्द्र बनाउन उद्यानलाई थप व्यवस्थीत गर्दै सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताए। फूलबारी अंकित हुलाक टिकट बनाउन र ऐतिहासिक महत्व रहेको मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला र नुवाकोटगगढीलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न बिशेष पहल गर्ने उनले बताए।

    कार्यक्रममा उद्यानका निवर्तमान अध्यक्ष खेमप्रसाद लुईटेलले नवनिर्वाचित कार्यासमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशकै नमुना पार्कका रुपमा रहेको फूलबारीलाई अझै व्यवस्थीत र संरक्षण गरी अन्तराष्ट्रिय स्तरमा समेत यसको प्रचारप्रसार गर्नुपर्ने उल्लेख गरे।

    कार्यक्रममा बुटवल- १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्य, सामुदायिक वन उपभोक्ता समूह बुटवल १ र २ का अध्यक्ष बाबुराम पौडेल, निर्वाचन समितिका संयोजक यामलाल खनाल, सदस्य महेन्द्र थापा, उद्यानका महासचिव युवराज घिमिरे, उपाध्यक्ष रमेशप्रसाद नेपाल, निर्वतमान उपाध्यक्ष बाबुराम पोखरेल, लगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन मिलेर काम गर्दै अघि बढने बताएका थिए।