२०८१ आश्विन २१ गते, सोमबार १३:०४
  • ‘अफ सिजन’मा पनि लुम्बिनीमा चिनियाँ पर्यटक

    लुम्बिनी – बर्षायाम पर्यटन क्षेत्रको लागि ‘अफ सिजन’ मानिन्छ। बुद्ध जन्मस्थल लुम्बिनीमा बर्षा मात्र नभई गर्मी याममा समेत पर्यटकको चहलपहल घट्ने बेला हो। कोरोनाकाल पछि यो वर्षको फेबुररी र मार्च महिनामा लुम्बिनीको पर्यटक आगमनमा आशा लाग्दो संकेत देखिएको छ। तर गर्मीका कारण मे महिनाबाट तेस्रो मुलुकका पर्यटकहरु घटेका छन्। चिनियाँ पर्यटकको आगमनमा भने खासै तलमाथि परेको छैन।

    यो बेला भारतबाहेक तेस्रो मुलुकबाट आउने पर्यटकमा सबै भन्दा बढि चिनियाँ रहेका छन्। जुलाई महिनामा मात्र ४०४ चिनियाँ पर्यटक लुम्बिनी आएका छन्। त्यसपछि श्रीलंकाबाट २८३, भियतनामबाट १७६ र थाइल्याण्डबाट १२५ पर्यटक लुम्बिनी आएका छन्। अन्य मुलुकका पर्यटकको आगमन जुलाई महिनामा सय भन्दा कम छ।

    सन २०२३ सुरु भएयता लुम्बिनीमा २ हजार ५ चिनियाँ पर्यटक आइसकेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ। यो वर्षको जनवरी महिनामा जम्मा १८ चिनिया मात्र आएका थिए। फेब्ररी महिनामा ११५, मार्चमा २३६ जना आएकोमा अप्रिलमा बढेर ४१६ र मे महिनामा ४२३ पुगेको थियो। जुनमा चिनिया आगमन दर केही घटेर ३९३ मा झरेकोमा जुलाइमा फेरी बढेर ४०४ पुगेको हो।

    सन २०१९ को अन्त्यमा कोरोना सुरु भएदेखी चिनिया पर्यटक आगमन ठप्प जस्तै थियो। अघिल्लो वर्ष सन २०२२ मा जम्मा ४३२ चिनियाँ लुम्बिनी आएका थिए। तर यो वर्षको मध्यसम्म त्यसको ४ गुना बढि चिनियाँ आइसकेका छन्। चिनले गत मार्च १५ तारिखदेखी लागु हुने गरि पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको थियो। जसका कारण नेपाल आउने पर्यटकको संख्या बढेको हो। तर चिनिया पर्यटकको आगमन कोभिड अगाडिको अवस्थामा भने फर्किसकेको छैन । सन २०१९ को जुलाइ महिनामा १०३९ पर्यटक लुम्बिनी आएका थिए।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष चन्द्र थापाले चिनियाँ पर्यटकको आगमनले केही आशा गर्ने ठाउँ भएको तर पर्याप्त मान्न नसकिने उल्लेख गरे । ‘कोरोनाकाल पछि यतीबेला पर्यटक बढ्नु स्वभाविक नै हो । यसले हामी पर्यटक व्यवसायीलाई झिनो आशा जगाएको छ।’ उनले भने ‘आउँदो सिजनमा चिनियाँ पर्यटक थप केही बढ्न पनि सक्छ । जति हुनुपर्ने हो त्यस्तो होला जस्तो लाग्दैन।’ थापाले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदासम्म आशा गर्न नसकिने बताए।

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापन गरिरहेका कुमार खड्काले महिनाको ४ सय चिनियाँ पर्यटक आउँदैमा खुशि मानिहाल्नुपर्ने अवस्था नभएको बताए। ‘ठूलो संख्यामा बुद्धधर्मलम्बी भएको देशबाट यती पर्यटक आउनु केही पनि होइन।’ उनले भने ‘यहाँ पर्यटनको लागि राम्रो वातावरण बनाएर ठूलो संख्यामा चिनियाँ पर्यटक तान्न सक्नुपर्छ।

    खड्काले अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा र बुटवल–नारायणगढ सडक निर्माण नसकिदासम्म आशा गरे जस्तो पर्यटक नआउने बताए। लुम्बिनीमा वर्षा याममा भारतीय पर्यटकको आगमन दर पनि घटेको देखिएको छ । गत जुन महिनामा २१ हजार भारतीय पर्यटक लुम्बिनी आएकोमा जुलाइमा घटेर १० हजार आएका छन्।

    गर्मी र वर्षायामले आन्तिरिक पर्यटकलाई पनि प्रभाव पारेको छ। गत अप्रिल महिनामा नेपाल भित्रैबाट ९९ हजार पर्यटक लुम्बिनी घुम्न आएका थिए । जुलाइ महिनामा त्यसको एक चौथाइ अर्थात २३ हजार ५ सय आन्तरिक पर्यटक लुम्बिनी आएका छन्।