२०८१ आश्विन २१ गते, सोमबार १३:११
  • लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त

    लुम्बिनी – लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएका छन् । संविधान सभाका पूर्वसदस्य तथा पूर्वराज्यमन्त्री समेत भएका लामाको पृष्ठभूमि विवादास्पद छ। वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा उनी पटकपटक पक्राउ पर्दै छुट्दै गरेका छन्।

    २०६४ सालमा एमालेबाट सभासद भएका उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६७ मा अर्थराज्यमन्त्री बनेका थिए। तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए। ०७१ मा उनी एकीकृत माओवादीमा समानुपातिक सभासद बने। उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।

    कोषका यसअघिका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल साउन १० गते सकिएको थियो। गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो।