२०८१ आश्विन २१ गते, सोमबार १९:२५
  • लुम्बिनीमा अनियमित विद्युत कटौती, कोषका पदाधिकारीद्वारा प्राधिकरणको ध्यानाकर्षण

    लुम्बिनी-लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र वाहिर विद्युतको समस्याका बारेमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेटगरि छलफल गरेको छ। कोषका कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईले विद्युत समस्याको दीर्घकालिन समस्या समाधानका बिषयमा छलफल गरेका हुन्।

    नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख नवराज ओझालाई बुद्धजन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र विद्युतका कारण निकै समस्या भोग्नुपरेकाले त्यसको समाधान गर्न कोषका तर्फबाट प्राधिकरणको ध्यानआर्कषण गराइएको हो।कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराईले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा अनियमित विद्युत कटौती, भोल्टेजको समस्याले हैरानी बनाएकाले यसको दीर्घकालिन समाधान गर्न आग्रह गरे।

    सदस्य सचिव सानुराजा शाक्यले धेरैपटक छलफल गरिएपनि विद्युतको समस्या हल हुन नसकेकाले कोषभित्रको विद्युत समस्याको प्राविधिक समस्याको अध्ययन गरि समाधान गर्नुपर्ने बताए।

    भेटघाटमा कोष योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनामा विद्युतको समस्यालाई समाधान गर्न कोष प्राधिकरणसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको उल्लेख गरे। गुरुयोजना क्षेत्रभित्र विस्तार गरिएको तार, सोलारको उर्जा विद्युत ग्रिडमा जडान जस्ता समस्यालाई प्रदेश तहबाट समाधान गर्ने प्रदेश निर्देशक नवराज ओझाले बताए।

    कोषका पदाधिकारीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रवन्धक संजय कुमार मिश्रलाई समेत भेट गरेको छ।

    यसअघि कोषाध्यक्ष भट्टराईको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि कोष र लुम्बिनी क्षेत्रका लागि छुटाछुट्टै रुपमा विद्युत वितरणको व्यवस्था गर्न माग गरिएको थियो। सोही माग अनुसार अहिले लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र छुट्टै फिडर जडान समेत भइसकेको छ। जसका कारण अहिले लुम्बिनीको बाहिर क्षेत्रमा विद्युत कटौती, लोभोल्टेज जस्ता समस्याहरु समाधान भएको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका सहायक प्रवन्धक संजय कुमार मिश्रले जानकारी दिए।