२०८१ आश्विन २१ गते, सोमबार १३:०५
  • भैरहवामा अन्तर्राष्ट्रिय उडानको लागि म्यानमार र भुटानको टोलीद्वारा स्थलगत अवलोकन

    सलाम एयरद्वारा फोन मार्फत जानकारी

    भैरहवा – भैरहवामा अन्तर्राष्ट्रिय उडानको लागि म्यानमार र भुटानले चासो राखेका छन्। दुई देशको टोलीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइ अवलोकन समेत गरिसकेका छन्। केही दिन अघि म्यानमार नेश्नल एयरलाइन्सको टोली भैरहवा आएको थियो। त्यस्तै भुटानबाट त्यहाँको नागरिक उड्यन प्राधिकरणको टोलीले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेको छ।

    दुबै देशले आफ्नो मुलुकबाट भैरहवामा उडान गर्दा हुने सुविधा लगायतका बारेमा चासो राखेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले बताए। ‘गत वर्ष हामीले भैरहवामा उडान गर्नेको लागि पार्किङ शुल्क निशुल्क भनेका थियौं । उहाँहरुले त्यो सुविधा अझै छ कि छैन भनेर चासो राख्नुभएको थियो ।’ उनले भने ‘हामीले अहिले पनि त्यो सुविधा भएको कुरा जानकारी गरायौं । ति देशबाट छिटै उडान होला भन्ने आशा गरेका छौं ।’ भुटानको बारेमा प्रक्रियामा छ भन्ने कुरा आएको बज्रचार्यले बताए।

    सलाम एयरले फोन मार्फत भैरहवाको अन्तराष्ट्रिय विमानस्थलको बारेमा चासो राखेको छ। सलाम एयरको ओमनमा मुख्यालय छ। तर मस्कटमा रहेको अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न देशमा उडान गर्दै आएको छ। ‘उहाँहरुको चासो देख्दा उडान गर्ने हिसाबले नै बुझ्नुभएको होला जस्तो लाग्यो।’ बज्रचार्यले भने।

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको १५ महिना भएपनि उडानहरु थपिएका छैनन्। उद्घाटनसँगै कुवेतको जजिरा एयरले उडान थालेको थियो। तर उसले व्यवसायीक कारण देखाउँदै जेठदेखि उडान रोकेको छ। जजिराले फेरी उडान गर्ने बताएको छ । उसले अक्टोबर नोभेम्बरबाट पुन उडान थाल्ने संकेत गरेको छ। अहिले हप्ताको एक दिन बुधबार नेपाल एयरलाइन्सको जहालले क्वालाम्पुर भैरहवा उडान गरेको छ। मलेसियाको क्वालालाम्पुरबाट भैरहवा आएको जहाज यहाँ यात्रु ओराली काठमाडौं जाने गरेको छ।