२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • ‘अबको सिजन पाल्पामा पर्यटकीय चहलपहल बढ्नेमा निकै आशाबादी छौं'(अन्तर्वार्ता)

    पदयात्रा अभियानमा पहिचान भएका नयाँ गन्तव्यलाई टुर प्याकेजमा समेट्छौं

    प्राकृतिक रुपले सुन्दर अनि धार्मिक, एतिहासिक महत्व बोकेकोे पाल्पाको तानसेन देशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँको पाल्पा दरबार, रणउजेश्वरी भगवती मन्दिर, श्रीनगर, बतासेडाँडामा थुप्रै पर्यटकहरु आउने गरेका छन्। तानसेन बजारको केही दुरीमा रहेको रानीमहल र भैरबनाथ मन्दिरको अवलोकनको लागि पनि देशका विभिन्न ठाउँबाट मानिसहरु पुग्ने गर्दछन्। पाल्पामा आएका पर्यटकहरुको बसाइ लम्बाउनको लागि पर्यटन व्यवसायीहरुले विभिन्न अभियान सञ्चालन गरेका छन्।
    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टा पाल्पा च्याप्टरले नयाँ पर्यटकीय गन्तव्यको पहिचानको लागि साउन महिनामा पदयात्रा अभियान सञ्चालन गर्यो। प्रत्येक शनिवार फरक फरक गन्तव्यको लागि एक दिने पदयात्रा आयोजना गरिएको थियो। पदयात्रा अभियान, पाल्पाको पर्यटन प्रवद्र्धनका गतिविधि र यहाँको पर्यटकीय सम्भावनाको बारेमा हामीले नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजीवकुमार शाहसँग कुराकानी गरेका छौं।

    साउन महिनामा पदयात्रा अभियान सञ्चालन गर्नुभयो, कुन-कुन गन्तव्यको पहिचान गर्नुभयो ?
    साउनको पहिलो शनिवार हामी तानसेनबाट बौघापोखरा थोक पुग्यौं। त्यहाँ चेचिकोटको रतन पाँडे मन्दिर हुँदै थाम्केडाँडा गयौं। दोस्रो शनिवार बगनासकालीको तिनछाँगा पुग्यौं। तेस्रो शनिवार रानीमहल जाने बाटोमा भएर जान सकिने सिद्ध गुफाको अवलोकन गर्यों। भरखरै मात्र हामी कुहीरेभिर हुँदै बौघागुम्बा होम स्टेमा पुगेर यो पटकको पदयात्रा अभियानको समापन गयौं।

    पदयात्रा अभियानको तपाईहरुले कसरी समिक्षा गर्नुभएको छ ?
    पदयात्रा कार्यक्रमबाट हामीले सहभागीहरुसँग प्रतिक्रियाहरु लिने गरेका छौं। नयाँ गन्तव्य कस्तो लाग्यो भन्ने बारेमा सहभागीहरु आफ्ना कुरा राख्नुभयो। त्यहाँ पर्यटकलाई लैजान कत्तिको सहज छ भन्ने बारेमा पनि छलफल भयो। चारवटै ठाउँ तानसेन बजारबाट सहज पहुँच भएको गन्तव्य हो। पर्यटकीय विकासको लागि ति ठाउँमा थप केही गर्नुपर्ने छ। व्यवसायीहरुले आफ्नो किसिमले प्रचारप्रसार गरिरहेका हुन्छन्। स्थानिय तहबाट ति ठाउँमा कसरी जान सकिन्छ भनेर लोकेसन देखाउन साइबोर्डहरु राख्ने, सरसफाइ गरि व्यवस्थित गर्ने काम गर्नुपर्छ।

    तिनछाँगामा र सिद्धगुफामा पैदलयात्राको लागि अलि सहज बनाउनुपर्छ । सवारी साधनबाट झरेर केही पैदल हिड्नुपर्छ। पैदल यात्राको लागि गोरेटोलाई सहज बनाउँदा राम्रो हुन्छ। तिनछाँगामा फोटो खिच्न पनि गाह्रो रहिछ भिरबाट लिनुपर्ने। त्यहाँ सहज तरिकाले खिच्न सकिने बनाउन सकिन्छ। त्यस्तै त्यहाँ व्यवसायीक तवरबाट चिया नास्ता खाने ठाउँ राख्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ। बौघागुम्बा होम स्टे पुरानो गन्तव्य हो। हामी एक रात बस्यौं। सुरुवातमा राम्रै चलेको थियो। पछिल्ला दिनमा सक्रिय देखिँदैन। अहिले पुराना पुस्ताकाले चलाइरहनुभएको छ। नयाँ पुस्ताकाहरुलाई तालिम दिएर सक्रिय बनाउने हो भने राम्रोसँग चल्न सक्छ। कुहिरेभिर ओभरअल ठाउँ हेर्न राम्रो गन्तव्य हो।

    पदयात्राबाट जति ठाउँहरु पहिचान गर्नुभयो। यी ठाउँहरुलाई पर्यटकीय प्याकेजमा कसरी समेट्नुहुन्छ ?
    हामीले कुनै न कुनै रुपमा यी तानसेन आसपासका गन्तव्यहरुलाई टुर प्याकेजमा समेट्ने छौं। नयाँको मात्र प्याकेज बनाउने भन्ने हुँदैन। जस्ता रानीमहल एउटा चर्चित पर्यटकीय गन्तव्य हो। रानीमहल कोही घुम्न जानुहुन्छ भने हामीले सिद्ध गुफामा जान पनि प्रेरित गर्छौं। आधादिनको प्याकेजमा रानीमहलसँगै गुफा पनि जोडियो। कोही तान्सेनबाट पोखरा जाँदै हुनुहुन्छ भने हामीले तिनछाँगाको झरना भएर जान जोड दिन्छौं। १० किलोमिटर तानसेनबाट गाडीमा गइसकेपछि झरना हेरेर जान सकियो। पोखराबाट आउनेलाई बर्तुगबाट नभई राम्दी तिरबाट अर्को बाटो झरना भएर आउन भन्छौं।

    पाल्पा बस्ने गरि आएका पर्यटकहरुलाई टुर प्याकेज अनुसार हामी भ्रमण गराउँछौं। कतिदिनको प्याकेज हुन्छ सोही अनुसार व्यवस्था गर्छौं। होम स्टे बस्नेलाई त्यो सेरोफेरोमा रानीमहल, गुफा जान मिल्यो, रतन पाँडे डाँडा र थाम्केडाँडाको भ्युप्वाइन्ट घुमाउन सकिन्छ। धर्मिक पर्यटनलाई पनि जोड्दै जान्छौं। रिडी एकदम महत्वपूर्ण स्थान छ। साउन महिनाको कार्यक्रम जस्तै भदौ महिनामा चार दिन अब हामीले धार्मिक पर्यटनको लागि महाआरतीको सोंच बनाएका छौं। हेरौं कस्तो हुन्छ।

    अहिले त वर्षायाम हो। अलि समयपछि पर्यटनको सिजन सुरु हुन्छ। आउँदो सिजनमा पाल्पामा पर्यटक आउँछन् भन्नेमा कत्तीको आशाबादी हुनुहुन्छ?
    पाल्पा धेरै पुरानो पर्यटकिय गन्तव्य हो। जुनबेला पाल्पाको नाम थियो। त्यो बेला बन्दीपुर र पोखराको चर्चा थिएन। पहाडकी रानी, बादल माथिको शहर भनेर तानसेनलाई चिनिन्छ। धार्मिक, सांस्कृतीक ऐतिहासिक, पुरातात्वीक हिसाबले पाल्पा महत्वपूर्ण जिल्ला हो। तानसेन बजार आँफैमा बाहिरबाट आउनेको लागि मनमोहक छ। पछिल्लो एक वर्षको अवस्थालाई हेर्दा अबको सिजन पाल्पामा पर्यटकीय चहलपहल बढ्नेमा निकै आशाबादी छौं। रानीमहलमा मात्र गत वर्ष सवा लाखले टिकट काटेर अवलोकन गरेका छन्। श्रीनगरमा उत्तिकै चहलपहल हुन्छ। हिउँदमा पिक्नीक खान आउनेको भिड हुन्छ।

    बैशाख १ गते नयाँवर्षमा घुम्न आउनेहरुको चापले तानसेमा बस्न ठाउँ हुँदैनथ्यो। विशेष गरि पछिल्लो समय पाल्पामा भारतीय पर्यटकहरु बढेका छन्। सिमा पारीका भारतीय पर्यटनको नजिकको सितल गन्तव्य तानसने भएकाले गर्मी छल्न आएका हुन्छन्। आउँदो सिजनमा होटल क्षमताको ५० प्रतिसत भन्दा बढि नै पर्यटक हुन्छन्। त्यसैले हामी आशाबादी छौं। सँगसँगै नयाँ–नयाँ पर्यटकिय गतिविधिहरु अगाडी बढ्दै छ। जस्तै प्याराग्लाइडिङ, जिपलाईन, ¥याप्टीङ, माउन्टेन बाइक र पदयात्रालाई पनि फोकस गरेका छौं। यहाँ आधादिन एक दिनको पदयात्रा गर्न सकिने ठाउँहरु छन्।

    अहिले आन्तरिक र भारतीय पर्यटकहरुको आगमन राम्रो छ। पाल्पामा तेस्रो मुलुकका पर्यटकलाई पनि आकर्षित गर्ने यहाँहरुको योजना के छ?
    विगतका दिनमा तेस्रो मुलुकका पर्यटकको लागि पाल्पा महत्वपूर्ण गन्तव्यको रुपमा रहेको हो। लुम्बिनीबाट पोखरा जाने पर्यटकहरु यहाँ नाइट स्टे गरेर जान गर्दथे। पछिल्लो हिउदे सिजनमा केही युरोपियनहरु फाट्ट फूट्ट आएको अवस्था हो। तर अपेक्षा गरे जस्तो अवश्य पनि छैन। यसको लागि हामीले पोखरा, काठमाडौँका पर्यटन क्षेत्रका साथीहरुसँग सहकार्य गर्ने प्रयास गरेका छौं। उहाँहरुसँगको भेटमा हामीले तपाईहरुको प्याकेजमा पाल्पालाई थोरै समयको लागि भएपनि पनि जोडदिनुस भन्छौं। हामीसँग केही पूर्वाधारहरु कमी होला, तर राम्रो सेवा दिने प्रयास गर्छौं।

    पाल्पामा सर्टिफाइ गाइडको कमि छ। त्यसैले आगामी दिनमा पर्यटकहरुलाई सेवा दिनको लागि हामीले टुर प्याकेज टेक अफ मेन्ट तालिम, टुर गाइड तालिम गर्ने योजना छ। नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)भन्ने संस्था छ । नाथमले एकेडेमी र नन एकेडेमी कोर्षहरु पनि चलाउँछ। उनीहरुसँग सहकार्य गरेर पाल्पाको पर्यटकीय जनशक्ती उत्पादनको लागि तालिम गर्ने तयारी गरेका छौं। यसले पाल्पाको थप पर्यटकीय विकासमा सघाउ पुर्याउँछ।