२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • तीन महिनाभित्र टाइगर प्यालेस पूर्ण रुपमा सञ्चालन गर्छौं : बुद्धिसागर सुवेदी

    ‘नाफाको उद्देश्य भन्दा पनि जन्मभूमिप्रतिको दायित्व सम्झेका हौं’

    बुटवल-टाइगर प्यालेस रिसोर्टको नयाँ व्यवस्थापन समूहका अध्यक्ष बुद्धिसागर सुवेदीले ३ महिना भित्र रिसोर्टलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताएका छन्। बुद्ध परिपथसँग कुराकानी गर्दै सुवेदीले क्यासिनोसहित रिसोर्टलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने उल्लेख गरे। ‘होटल त आंसिक रुपमा चलिरहेको छ। अब क्यासिनो सहित पूर्ण रुपमा चलाउँछौं।’ उनले भने ‘६० दिन भित्र चलाउने हाम्रो लक्ष्य थियो। ३ महिना लाग्ला।’

    गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष रहेका सुवेदी टाइगर प्यालेसको खरिदकर्ता हिमालयन टाइगर इन्भेष्टमेन्ट इकका अध्यक्ष हुन्। यस अघि अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको लगानीमा सञ्चालित पाँच तारे होटल केही दिन अघि गैरआवासिय नेपालीहरुको लगानी रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इकले खरिद गरेको थियो। अध्यक्ष सुवेदीले सरकारलाई तिर्नुपर्ने कर र राजस्व सबै तिर्ने बताए। उनले आगामी दिनमा पनि कत्ती पनि कर बाँकी नराखेर व्यवसायलाई अगाडि बढाउने दाबी गरे। ‘सरकारलाई तिर्नुपर्ने दायित्व एक रुपैया पनि बाँकी राख्न हुन्न भनेर हामीले एकाउण्टेनलाई पनि भनेका छौं।’ सुवेदीले भने।

    बैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुग्दा नेपालमा लगानीको वातावरण नभएको सन्देश जाने भएकाले आफूहरुले टाइगर प्यालेस रिसोर्टको सबै सेयर खरिद गरेको सुवेदीको भनाइ छ। कोभिड महामारी र अन्य कारणहरुले गर्दा टाइगर प्यालेस रिसोर्ट पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन। जसका कारण रिर्सोटले करोडौं रुपैया घाटा बेहोर्दै आएको थियो। अर्को तर्फ थुप्रो नेपालीले रोजगारी गुमाउनुपरेको थियो।

    सुवेदीले पर्यटन उद्योग मार्फत रोजगारी सिर्जना र यहाँको आर्थिक विकासमा योगदान गर्न लागेको बताए। ‘रुपन्देही पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो। ठूला लगानीका यस्ता व्यवसाय बन्द हुन हुन्न भनेर हामीले रिसोर्ट लिएका हौं ।’ उनले भने ‘यसमा हामीले नाफाको उदेश्य भन्दा पनि जन्मभूमिप्रतिको दायित्व सम्झेका हौं।’ सुवेदीले गैर आवासीय नेपालीहरुको तर्फबाट पर्यटन क्षेत्रमा एउटा इटा थप्न चाहेको बताए।