२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • मुख्यमन्त्रीलाई संरक्षक बनाएर रामग्राम क्षेत्र विकास कोष गठन गरिने

    यस्तो छ कोषको सञ्चालक समिति र कार्यकारी समितिको व्यवस्था

    परासी – नवलपरासी पश्चिममा अवस्थित रामग्रामको पर्यटकीय विकासको लागि छुट्टै विकास कोष गठन हुने भएको छ। गौतम बुद्धको अस्तिधातु रहेको स्थलको विकास र संरक्षणको लागि रामग्राम नगरपालिकाले कोषको ऐन समेत बनाइसकेको छ।
    नगरपालिकाको असारमा भएको नगरसभाबाट ‘रामग्राम क्षेत्र विकास कोष ऐन २०८०’ तयार गरिएको हो। ऐन राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

    ऐन अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री रामग्राम क्षेत्र विकास कोषको संरक्षक रहने व्यवस्था छ। कोषको नीति निर्माणको लागि १३ सदस्यीय सञ्चालक समिती र पूर्ण कामकाजको लागि ५ सदस्यीय कार्यकारी समिति रहने ऐनमा उल्लेख छ।

    रामग्राम नगरपालिकाका नगरप्रमुख कोषको सञ्चालक समिति अध्यक्ष हुनेछन्। नगर उपप्रमुख, जिल्ला प्रसासन कार्यालयका प्रतिनिधि सदस्यको रुपमा रहने छन्।

    अन्य सदस्यहरुमा नगरपालिकाका वडाध्यक्ष मध्येबाट कार्यापालिकाले मनोनित गरेको एक महिला सहित २ जना, लुम्बिनी सर्किट अन्तरर्गतका नगरपालिकाका प्रमुख र उपप्रमुखहरु मध्येबाट एक महिला सहित २ जना, पुरातत्व विभागका प्रतिनिधि १ जना, लुम्बिनी विकास कोषका एक जना प्रतिनिधि, लुम्बिनी गार्डेन फाउण्डेसनका प्रतिनिधि १ जना, स्थानिय गैरसरकारी बौद्ध संस्था र ख्यातीप्राप्त विशिष्ठ विशेषज्ञहरुबाट कार्यपालिकाले मनोनित गरेको २ जना हुने व्यवस्था छ। नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कोषको सदस्य सचिवको रुपमा रहने छन्।

    मनोनित सदस्यहरुको पदावधी ५ वर्षको हुने छ । सञ्चालक समितिको निर्देशन र नियन्त्रणमा रहि कोषको सम्पूर्ण कामकाज गर्न कार्यकारी समितिको व्यवस्था छ। कार्यकारी समितिमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिले मनोनित गरेको सम्बन्धित क्षेत्रको एक जना विज्ञ, कार्यपालिकाबाट मनोनित बौद्ध संस्कृती र दर्सन सम्बन्धी एक जना विज्ञ, कार्यपालिकाले तोकेको एक जना महिला सदस्यको रुपमा रहने छन्। रामग्राम नगरपालिकाका योजना अधिकृत कार्यकारी समितिको सदस्य सचिव हुने छन्।

    कोषको प्रशासकिय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशकको व्यवस्था छ। रामग्राम लुम्बिनी विकास कोष अन्तर्गत पर्दछ। लुम्बिनी विकास कोष ऐनले बुद्धजन्मस्थल लुम्बिनीसँगै, कपिलबस्तुका साइटहरु, देवदह र रामग्रामलाई समेटेको छ।

    रामग्रामकी नगरउपप्रमुख सम्झना चौधरीले रामग्राम स्तुपा ओझेलमा परेकाले यसको क्रमिक विकासको लागि छुट्टै विकास कोष गठन गर्न लागेको बताइन्। ‘आजसम्म रामग्राम क्षेत्र ओझेलमा परेको छ। लुम्बिनी विकास कोषले हेर्ने भनेपनि यसको क्रमिक विकास हुन सकेको छैन।’ उनले भनिन् ‘एउटा राम्ररी बस्ने ठाउँ र खानेपानीको सुविधा छैन। पानी पर्यो भने ओत लाग्ने ठाउँ छैन भागेर जानुपर्छ । जरुरी भएर नै हामीले छुट्टै विकास कोष बनाउन लागेको हो।’ यसरी कोष बनाउँदा नगरपालिकाले बजेट छुट्याएर काम गर्न पनि सजिलो हुने उपप्रमुख चौधरीको भनाइ छ।

    कोषको कार्य क्षेत्र अन्तर्गत रामग्राम क्षेत्रको उत्खनन्, पुरातात्वीक सम्पदाको संरक्षण, विहार पोखरी बगैंचा, कार्यालय आवस लगायतको पूर्वाधार निर्माण, लुम्बिनी सर्किट भित्रको समुदायमा होमस्टे निर्माण, परम्परागत सांस्कृतिक महोत्सवको आयोजना लगायत रहेको छ।

    संघिय कानून अन्तर्गत गठन भएको लुम्बिनी विकास कोषमा रामग्राम क्षेत्रलाई पनि समेटिएको छ। लुम्बिनी विकास कोषसँग मत बाझीएमा रामग्राम क्षेत्र विकास कोषलाई अघि बढ्न गाह्रो हुनेछ। दुबै कोषबीच समन्वय भएमा रामग्राम क्षेत्रको संरक्षण र विकासका काममा सहजता आउने छ।