२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • भगवती जात्राको अवसरमा ३० जना भारतीय पर्यटन व्यवसायी पाल्पा आउँदै

    तिनदिने बसाइमा तानसेन आसपासका विभिन्न ठाउँ अवलोकन गराइने


    तानसेन भगवती जात्राको अवसरमा ३० भन्दा बढि भारतीय पर्यटन व्यवसायी पाल्पा आउँदै छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रम अन्तर्गत सिमानजिकका भारतीय पर्यटन व्यवसायी र पत्रकार आउने भएका हुन्।

    ऐतिहासीक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गर्ने उदेश्यले भारतीय पर्यटन व्यवसायीको परिचयात्मक यात्राका साथै बीटुबी सेल्स मिसन कार्यक्रम गर्न लागिएको नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहले जानकारी दिए।

    यस्तो छ तीन दिने कार्यक्रम
    भारतीय पर्यटन व्यवसायी तथा पत्रकारको टोली बुधबार विहान तानसेन आइपुग्ने छन्। दिउसो तान्सेन बजारसँगै श्रीनगर लगायतका स्थानमा साइटसिन गराइने छ। बेलुका भगवती जात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।

    विहिवार विहानको साइटसिनमा बगनासकालीको तिनछाँगा पुग्नेछन्। तिनछाँगाको अवलोकनपछि त्यहाँको महामृत्युञ्जय मन्दिर दर्शन गराइनेछ। भारतीय पाहुनाहरुलाई मध्यान्न साढे ११ बजे रणउजेश्वरी भगवती जात्राको अवलोकन गराइने छ। दुई सय वर्ष अघिदेखी तानसेनमा कृष्णजन्माष्टमीको भोलीपल्ट भगवती जात्रा हुँदै आएको छ।

    जात्रा अवलोकनपछि दिउसो सिद्ध गुफा हुँदै रानीमहल पुग्ने छन्। रानीमहलमा र्याफ्टीग समेत हुने छ। रानीमहलपछि धार्मीक स्थल रिडीमा पुगी तिनमुखे पुल, त्यहाँको मन्दिर तथा साँझको आरती अवलोकन गराइने नाट्टा पाल्पाका अध्यक्ष शाहले जानकारी दिए। साँझ सिर्जना फारममा भारतीय पाहुनाहरुको बसाइ हुने छ। त्यहाँ बेलुका सांस्कृतिक कार्यक्रम अवलोकन गराइने।

    शुक्रबार विहान भैरबस्थान हुँदै थाम्केडाँडा, कुहिरेभिर अवलोकन गरेपछि तानसेनमा आएर बीटुबी सेसन हुने छ।त्यसपछि भारतीय पर्यटन व्यवसायीहरुको विदाइ गरिने छ। यो कार्यक्रमले पाल्पाको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने नाट्टा पाल्पाका अध्यक्ष शाहले बताए।