२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • भैरहवा-हङकङ उडानको पहिलो यात्रु बन्दा हर्षित छन् विश्व

    भैरहवा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नयामिलका विश्व जोशी भैरहवाबाट हङकङ उडान गर्ने पहिलो यात्रु बनेका छन्। मंगलबार विहान साढे ९ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज हुँदै उनी हङकङ प्रस्थान गरे।

    सो उडानमा हङकङ जाने दुई जना यात्रु छन्। तर टिकट बुकिङ र विमानस्थल प्रवेशको आधारमा जोशी पहिलो यात्रु बनेका हुन्। ‘अघि आउँदा एयरलाइन्सका सरहरुले मलाई त्यही अनुसार व्यवहार गर्नुभयो। तपाई पहिलो हुनुभयो भन्दा लक्की फिल गरेको छु।’ उनले भने‘ टिकट बुकिङ गर्दा पनि हजुर पहिलो हो भन्नुभएको थियो।’

    नेपाल एयरलाइन्सले दुई हप्ता अघि भैरहवाबाट हङकङ उडान गर्न टिकट बुकिङ खुल्ला गरेको समाचार सार्वजनिक भयो। त्यसबेला विश्वको हङकङका लागि भिसा लाग्यो। उनलाई गौतमबुद्ध विमानस्थलबाटै हङकङ जाने चाहाना जाग्यो। तर आफू जाने बेलासम्म उडानले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने जोशीमा आसंका थियो। ‘समाचार सुनेपछि मैले नेपाल एयरलाइन्सलाई फलो गरिरहेको थिएँ। मेरो पालोसम्म उडान होला कि नहोला, एक दुई हप्ता चलेर यात्रु भएनन् भन्दै बन्द हुने होकी भन्ने लागेको थियो।’ उनले भने ‘मैले नेपाल एयरलाइन्ससँग सम्पर्क गरेर टिकट लिएँ। आज यहीबाट उड्न पाउँदा हर्षित छु।’

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा विदाइ गर्न दुई जना परिवारका सदस्य पनि आएका थिए। यहीबाट परिवारसँग विदा हुन पाएको र काठमाडौँ जाने झन्झटबाट मुक्त भएको जोशीले सुनाए। ‘लगेजहरु लिएर गइ काठमाडौँमा एक रात बस्न पर्ने बाध्यता हुन्थ्यो।’ उनले भने ‘त्यो झन्झटबाट मुक्त भएको जस्तो लागेको छ। विहान जुरुक्क उठेर घरैबाट यहाँ आउन पाइएको छ।’

    विश्व जोशी १४ दिनको पर्यटन भिसामा हङकङ गएका हुन्। विहान साढे ९ भैरहवाबाट उडेर १० बजे काठमाडौँ पुगे। त्यहाँ एक घण्टा जति मात्र ट्रान्जिट बस्नुपर्दछ। ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी हङकङ प्रस्थान गरेका छन्।
    १४ दिनपछि हङकङबाट फर्किदा भने काठमाडौँ नै अवतरण गर्नुपर्दछ। ‘जसरी जान पाइएको छ त्यसरी नै अन्तराष्ट्रिय उडानबाटै भैरहवामा ल्याण्ड हुन पाएको भए अझ राम्रो हुन्थ्यो। त्यो चाँही विस्तारै हुँदै जाला।’ जोशीले भने।

    मंगलबार जोशीसँगै तिलोत्तमा ड्राइभरटोलका जगतबहादुर पाण्डे पनि भैरहवाबाट हङकङ उडेका छन्। हङकङमा छोरा भएकाले उनी त्यहाँ गएका हुन्। गत जेठमा हङकङ जाँदा काठमाडौँ गएर जानुपरेको थियो। अहिले भने पाण्डेलाई भैरहवाबाट जाने अवसर जुट्यो। ‘यहाँबाँट काठमाडौँ, त्यहाँ होटल, होटलबाट एयरपोर्ट जान भन्दा यहाँबाट डाइरेक्ट जान पाइयो।’ उनले खुशी व्यक्त गरे।

    जगतबहादुरलाई विदाइ गर्न उनकी बुहारी रञ्जना केशी र अरु तीन जना आफन्त विमानस्थलमा आएका थिए। ‘पुरै परिवार यही आएर विदाइ गर्न पाइयो। काठमाडौं जाँदा एक जना मात्र जानुपर्ने हुन्थ्यो। होटलमा गएर बस्ने, पैसा र समय छुट्टै खर्च हुन्थ्यो।’ रञ्जनाले भनिन् ‘हङकङ बाहेक अरु देशको लागि पनि यस्तै फ्लाइट भए धेरैलाई सजिलो हुन्थ्यो।’

    नेपाल एयरलाइन्सले भदौ १२ गतेदेखि उडान भर्ने गरि काठमाडौँ ट्रान्जिट भएर भैहरवा–हङकङ र भैरहवा–दिल्लीको लागि टिकट बुकिङ खुल्ला गरेको थियो। जस अनुसार प्रत्येक मंगलबार विहान भैरहवाबाट उडान हुने तालिका छ। टिकट बुकिङ खुल्ला भएको दुई हप्तापछि मात्र नेपाल एयरलाइन्सले भैरहवा–हङकङ उडानको लागि यात्रु पाएको हो। अघिल्लो हप्ता एक जना यात्रु काठमाडौँ ट्रान्जिट भएर दिल्ली गएका थिए। आज ३ जना यात्रु भैरहवाबाट दिल्ली प्रस्थान गरेका छन्।

    नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले यात्रुहरु क्रमश बढ्दै गएको भन्दै यो उडानप्रति आशा जागेको बताए। ‘अस्ती भन्दा यो फ्लाइटमा यात्रुहरु बढ्नुभएको छ। यो भन्दा पछिल्लो फ्ल्याइटमा क्रमश हामीले यात्रुहरु धेरै पाउँछौ भन्ने आशा गरेका छौं।’ उनले भने ‘उडान बारे हामीले बढि भन्दा बढि यात्रुलाई जानकारी गराउन सक्यौंं भने यो क्षेत्रका जनतालाई धेरै सुविधा छ।’

    लोहनीले यात्रुलाई यहीँबाट भैरहवासँगै काठमाडौंको पनि बोर्डिङ पास उपलब्ध गराइएको बताए। लगेज पनि सिधै हङकङबाटै लिन पाउने उनले जानकारी दिए। लोहनीले आगामी दिनमा भैरहवाबाट उडान संख्या बढाउने प्रयास गरिरहेको समेत बताए।