२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • बसन्तपुरमा ४० लाखको लगानीमा जीपलाइन सञ्चालन


    बुटवल-लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा जीपलाइन सञ्चालनमा आएको छ। लुम्बिनी केबलकार लिमिटेडले ४० लाख लागतमा जिपलाइन सञ्चालनमा ल्याएको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ। एक हप्तासम्म परीक्षण गरेपछि सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो।

    बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पालपाको तिनाउ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताए। केबलकार चढ्न आउने पर्यटक मध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाको भनाइ छ। जीपलाइनमा ६ जनाले रोजगारी पाएका छन्।

    केबलकार चढ्न आउने आन्तरिक र विदेशी पर्यटकको मनोरन्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु बनाउने प्रक्रिया अघि बढाएको इन्जिनियर चौरसियाले बताए। आगामी दुई महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उनले जानकारी दिए।

    जीप लाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन्। उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र ब्यापारमा केही मात्रामा सुधार भएको बताएका छन्।