२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • दाङको छिल्लीकोटमा प्याराग्लाइडिङको परीक्षण उडान

    तुलसीपुर- दाङमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १९ को छिल्लीकोटको डाँडाबाट आइतबार र सोमबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो। तुलसीपुरका तीन युवा रविन्स डाँगी, बाबुराम घिमिरे र जय गौतमका साथै घोराहीका मोहन बस्नेतले मिलेर प्याराग्लाइडिङको सम्भाव्यता अध्यन गर्ने गर्ने उदेश्यले यो पहल भएको हो।

    पोखराबाट आएका पाइलट कृष्णबहादुर क्षत्रीसहितको टिमले लगातार दुइ दिन परीक्षण उडानको काम सफलता पूर्वक पुरा गरेका हुन्। पोखराको सराङकोट जस्तै दाङ तुलसीपुरको छिल्लीकोट प्याराग्याइडिङ उडानका लागि उत्तम स्थल भएको क्षत्रीले बताए। छिल्लीकोटबाट सिधै झर्दा १२ मिनेट र अन्य ठाउँमा ल्याण्डिङ गर्दा कम्तिमा ४५ मिनेट जति आँकाशमा आँफुहरु उडन सफल भएको उनले बताए।

    पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएको छ। पाइलट क्षत्री लगाएतको समुह स्थानीय युवाहरु संव समन्वय गरि नयाँ स्थलको खोजीमा जुटेका हुन।

    परीक्षण उडान सफल भएकाले अब दर्ता प्रक्रिया पुरा भएपछि व्यसायिक उडानको योजनाका साथ काम अगाडि बढाइएको रविन्स डाँगीले जानकारी दिए। तुलसीपुर – १९ का वडाध्यक्ष प्रेम योगीले प्याराग्लाइडिङको परीक्षण उडान गर्नु भन्दा पहिला युवाहरुको टिमले वडा कार्यालयबाट अनुमति लिएको बताए।