२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • पर्यटकलाई जितगढी भेटाउन गाह्रो, राजमार्गमा स्वागतद्वार वा वोर्ड आवश्यक

    बुटवल – पर्यटन प्रवद्र्धनको लागि मोटरसाइकिल यात्रा गरिरहेको गोल्डेन ट्रयांगल बाइक टुरको टोली काठमाडौँबाट हेटौंडा, चितवन हुँदै बुटवल आइपुग्यो। शनिवार विहान ऐतिहासिक जितगढी किल्लामा टोलीलाई स्वागत गर्ने कार्यक्रम राखिएको थियो। जितगढी आउन तिनाउ पुल तरेपछि धेरै जना राइडरहरु अलमलीए। मोबाइलमा नक्सा सर्च गर्दा जितपुर देखेर कतिपय पश्चिमतिर लागेको थिए। सोधखोज गर्दै केही ढिला उनीहरु जितगढी आइपुगे।

    पहिलो पटक आउनेहरुको लागि जितगढी भेटाउन धेरैलाई यस्तै गाह्रो पर्दछ। तिनाउ पुल नजिक पूर्वपश्चिम राजमार्ग सामुन्नेमै भएर पनि जितगढी पुग्न अलमलिनुपर्ने अवस्था छ। मोटरसाइकल यात्रीहरुले जितगढी सहज रुपमा फेला पार्न राजमार्गमा स्वागतद्वार वा बोर्ड राख्न सुझाब दिए।

    गोल्डेन ट्राङगल बाइक टुरका संयोजक विष्णु विवेकले राजमार्गमा बोर्ड राख्ने हो भने जितगढीको प्रवद्र्धनमा थप सघाउ पुग्ने बताए। ‘राजमार्गको छेउमै छ, एउटा बोर्ड मात्र राख्न सक्यौं भने यसलाई अझ धेरै प्रवद्र्धन गर्न सकिन्छ।’ उनले भने ‘हामीले बुटवलका मेयरलाई पनि भेट्दैछौं र चाँडो भन्दा चाँडो यहाँका सरोकारवाला तथा काठमाडौँमा पर्यटन बोर्ड लगायतका संस्थामा आवाज उठाउँछौं।’ जितगढी ऐतिहासिक सम्पदा भएकाले आफूहरुले गोल्डेन ट्रयाङगल बाइक टुरमा समेटेको विष्णुले जानकारी दिए।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले सहज तरिकाले फेला नपार्दा जितगढीको प्रवद्र्धनमा सरोकारवाला अझै कम्जोर रहेछौं भन्ने महसुस भएको बताइन्। ‘कतिपय साथीहरु म्यापमा जितपुर सर्च गरेर अलि टाढा पुग्नुभएछ। केही साथीहरु यही गल्लीमा १०–१५ मिनेट घुमेको घुम्यै गर्नुपर्यो।’ उनले भनिन् ‘हामीले म्याप बताउन सकेनौं। सहज रुपमा ठाउँ देखाउन सकेनौं। जितगढी प्रवद्र्धनमा हामी नर्सरीमा रहेछौं भन्ने महसुस भयो।’ पन्तले यसका लागि पर्यटन व्यवसायी र सरोकारलाहरुले पहल गर्नुपर्ने धारणा राखिन्।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी बुटवल घुम्न आएकाहरुलाई जितगढी चिनाउने गरि राजमार्गमा बोर्ड राख्न आवश्यक भएको उल्लेख गरे। ‘राजमार्गमा स्वागतद्वार वा वोर्ड राखेर जितगढी चिनाउन आवश्यक देखियो। जितगढीको लोकेसन देखाउने गरि बोर्ड राख्न हामीले पनि पहल गर्छौं।’ उनले भने।

    बुटवल–१ का स्थानिय तथा बटौलीका बारेमा कलम चलाउँदै आएका देवेन्द्रराज शाक्यले मोटर साइकिलयात्रीहरुले जितगढी फेला पार्न नसक्दा आफू दुखित भएको सुनाए। ‘उहाँहरु अलमलिएर पर पुग्नुभएछ, कस्तो दुख लाग्यो।’ उनले भने ‘पहिले तिनाउ पुलको मुखमा जितगढी किल्ला भनेर बोर्ड थियो, पछि त्यो हटेछ। अब रातो अक्षरमा प्रष्ट देखिने गरि बोर्ड राख्नुपर्छ।’ बाहिरबाट आउने मान्छेलाई जितगढी बारे थाह दिन उजिरसिंह स्कुल जाने मोडमै बोर्ड राख्नुपर्ने शाक्यको सुझाब छ।

    बुटवल १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले राजमार्गमा बोर्ड राख्न आफूले उपमहानगरपालिका मार्फत पहल गर्ने बताए। ‘अहिलेलाई चिनारी भनेको टावरको झण्डा छ। अग्लो भएकाले परबाट पनि देखिन्छ।’उनले भने ‘राजमार्गमा जितगढी किल्ला जाने बाटो भनेर बोर्ड राख्न सक्यो भने अझ राम्रो हुन्छ। त्यसको लागि हामी पहल गर्छौ।’

    जितगढी २ सय वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। पछिल्लो पटक यहाँ टावर सहितको झण्डा, नेपाल अंग्रेज युद्धलाई झल्काउने प्रतिमाहरु ल्गायतका संरचना बनाएर व्यवस्थित पारिएको छ। तर अझै पनि खासै पर्यटक आकर्षित हुन सकेका छैनन्। कुनै औपचारिक सभा समारोह हुँदा बाहेक प्राय जितगढी सुनसान हुने गरेको छ।