२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:२५
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएकोमा आपत्ती, तत्काल उडान थाल्न माग

    भैरहवा-भैरहवा पुन अन्तर्राष्ट्रिय उडान रोकिएको प्रति स्थानियले आपत्ती जनाएका छन्। उनीहरुले उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन उडानको माग समेत गरेका छन्। सिद्धार्थ सञ्जाल रुपन्देहीले शुक्रबार भैरहवामा गरेको अन्तरक्रिया तथा सुझाब संकलन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जहाजले यात्रु पाइरहेको अवस्थामा पनि उडान रोकिनु दुखद भएको उल्लेख गरे। उनीहरुले पुन अन्तर्राष्ट्रिय उडान नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

    कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले उडान निरन्तरताको लागि सरकारले पनि पहल नगरेको बताए। मन्त्रीपरिषदको बैठकले निर्णय गरेका कार्ययोजना पनि पूर्ण रुपमा लागू नहुँदा उडानले निरन्तरता नपाएको उल्लेख गरे।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रोकिएको उडान पुन सुरु हुनुपर्ने भन्दै त्यसको लागि सबैले दबाब दिनुपर्ने धारणा राखे। उनले प्रदेशभरका उद्योगी व्यवसायी संघ संस्था, पालिकाका जनप्रतिनिधिहरु, प्रदेश सरकारले पनि पहल गर्नुपर्ने बताए।

    सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सीपी श्रेष्ठले उडान निरन्तरताको लागि सबै पक्षबाट सुझाब संकलन गरेर अघि बढ्ने बताए । उनले अन्तर्राष्ट्रिय उडानको निरन्तरताको लागि सरकारसँग छलफल गर्ने जानकारी दिए। सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमयले जहाले यात्रु पाउँदा पनि उडान रोकिनु दुखद भएको बताए। उनले भैरहवाबाट पुन उडान सुरु नगरे आन्दोलनमा जानुको विकल्प नभएको उल्लेख गरे। कार्यक्रममा सहभागीहरुले भैरहवाबाट पुन उडान हुने वातावरण बनाउन सुझाब दिएका थिए।