२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • भैरहवामा ३० करोडको लगानीमा होटल अल्ट्रा इन्टरनेश्नल सञ्चालनमा

    भैरहवा-भैरहवामा होटल अल्ट्रा इन्टरनेश्नल प्रा.लि सञ्चालनमा आएको छ। ३० करोडको लगानीमा सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथमा होटल सञ्चालनमा आएको हो । साढे ३ कठ्ठा क्षेत्रफलमा ४ जनाको संयुक्त लगानीमा होटल अल्ट्रा इन्टरनेश्नल सञ्चालनमा आएको हो।

    बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार अनि आर्थिक केन्द्रको रुपमा रहेको भैरहवामा होटल सञ्चालनमा आएको प्रबन्ध निर्देशक सूर्य प्रसाद दुबेले बताए। ‘भारतको सीमा नजिक रहेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको र होटल व्यवसाय सञ्चालन सफलतापूर्वक सञ्चालन हुने कुरालाई मध्यनजर गर्दै यहाँ सञ्चालनमा ल्याएका छौं।’ उनले भने।

    होटलमा स्वीट, सेमी–स्वीट, डिलक्स, सुपर–डिलक्स गरी ४० वटा कोठा, सेमिनार हल, बैंक्वेट हल, रेष्टुरेण्ट लगायत सुविधा रहेको दुबेले बताए। विशेष गरी स्थानीय औद्योगिक व्यवसायिक प्रतिष्ठानबाट आउने, लुम्बिनीमा आउने बुद्धिष्ट र भारतीय पर्यटकलाई लक्षित गरिएको उनको भनाइ छ । होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। होटल पूर्ण क्षमतामा सञ्चालन गर्न अझै एक÷डेढ महिना लाग्ने र होटलमा ग्राहक आउने क्रम सुरु भइसकेको दुबेले बताए।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख समेत रहेका दुबेले आफ्नो परिवारले २०५८ सालदेखि काठमाडौंको सुन्धारामा सुविधा गेष्ट हाउस सञ्चालन गर्दै आएको बताए। उनले केही समय पश्चात होटलमा ग्रामीण पहाडी भेगको परम्परागत खाना उपलब्ध गराउने लक्ष्य रहेको सुनाए।

    होटलका महाप्रबन्धक रिजन सुवालले खाना र सेवालाई प्राथमिकता दिएको बताए। उनले होटलमा स्वादिलो र गुणस्तरीय खाना र नास्ता उपलब्ध गराइने बताए। होटलको सञ्चालकमा सूर्य प्रसाद दुबे, भविश्वर दुबे, तिलक प्रसाद भण्डारी र बालकृष्ण देवकोटा रहेका छन्।