२०८२ फाल्गुन २३ गते, शनिबार १२:३९
  • पाल्पा जस्तो सुन्दर र अनुकुल ठाउँ अन्त कतै छैन : पर्यटनमन्त्री पाण्डे

    पहाडको रानीको पहिचानकै रुपमा अगाडि बढाउनुपर्छ

    तानसेन -संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री प्रसाद पाण्डेले पाल्पा जस्तो सुन्दर र अनुकुल ठाउँ अन्त कतै नभएको बताएका छन्। उनले सबै सुचकलाई आधार मान्दा पाल्पा सबैभन्दा बस्नयोग्य ठाउँ भएको उल्लेख गरे।

    नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले यहाँबाट पलायन हुनु चिन्ताको विषय भएको बताए। ‘हावा पानीको कुरा गर्नुहोस्, चिसो तातोको मापन गर्नुहोस्, यी सबै सूचकलाई एक ठाउँमा राखेर हेर्ने हो भने पाल्पा जस्तो सुन्दर र यती अनुकुल ठाउँ दुनियामा कतै छैन।’ उनले भने ‘तर हामी यहाँबाट पलायन भइरहेका छौं । पाल्पाबाट झरिरहेका छौं, झरेर बुटवल, भैरहवा काठमाडौं र काठमाडौंबाट विदेशतिर उडिरहेको अवस्था छ।’ पाण्डेले अब युवाहरुलाई यही ठाउँलाई बसौं बसौं लाग्ने बनाउनुपर्ने भनाइ राखे। पलयानका कारण गाउँहरु रित्तो र उर्वर जमिन मरुभूमिकरण हुन लागेको भन्दै उनले नयाँ पुस्ताकालाई सम्भावना देखाउनुपर्ने बताए।

    विगतमा पाल्पा पश्चिम कमाण्डर जर्नेल बस्ने हिसाबले पनि काठमाडौंपछिको एउटा शक्तीशाली केन्द्रको रुपमा भन्दै एतिहासीक रुपले पनि महत्वपूर्ण ठाउँ भएको मन्त्री पाण्डेको भनाइ छ। विगतमा पहाडकी रानी भनेर पाल्पालाई चिन्ने गरिएपनि हिजोआज त्यो शब्द कम सुनिने गरेको उनले बताए। यो ठाउँलाई पहाडकी रानीको पहिचानकै रुपमा अघि बढाउनुपर्ने पाण्डेको सुझाब छ। शिक्षा र उद्यमको हिसाबले पनि पाल्पालाई चिनाउनुपर्ने उनले बताए। करुवा र ढाकाको उत्पादनले उद्यममा पनि एकखालको पहिचान बनाएको उनको भनाइ छ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पालाई पर्यटन तर्फ प्रदेश सरकारले विशेष महत्व दिएको बताए। उनले प्रदेशले आगामी विश्व पर्यटन दिवस पाल्पामै मनाउने जानकारी दिए। नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाको पर्यटकीय विकासमा अझ बढि ध्यान दिन संघिय र प्रदेशका मन्त्रीसँग आग्रह गरे।