‘नजिककै जान पनि पहिले स्कुटर चढ्थें, अहिले साइकल रमाइलो लाग्छ’

सीता श्रेष्ठ
घरबाट थोरै नजिकको यात्रा गर्दा पनि पहिले पहिले स्कुटर नै चलाउँथे। मेरो एक जना टिचरले साइकल चढ्दा राम्रो हुन्छ भन्नुभयो। उहाँबाट प्रेरित भएर मैले साइकल चलाउन थालें। एक वर्ष यता नजिकको दुरीमा प्राय म साइकलमै हिड्छु। असोज महिनामा हेटौडा उपमहानगरपालिकाले साइकल रेस प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगिताको लागि मेरो खासै तयारी थिएन। तर पनि भाग लिएँ। २५ किलोमिटर दुरीको प्रतियोगितामा अरु राइडर्स भन्दा राम्रो चलाएर महिला तर्फ विजेता भएँ।
केही दिनपछि अग्रज दाजुहरु साइकलमा लामो यात्रा घुम्न जाने कुरा गर्नुभयो। उहाँहरु धेरै जसो ५५ वर्ष माथिकै हुनुहुन्थ्यो। उहाँहरु त जान सक्नुहुन्छ भने मैले किन सक्दिन भन्ने लाग्यो। साइकलमा मेची–महाकाली यात्रा गर्ने विचार गरें। साइकल दौडको प्रतियोगिताको उत्साहले पनि लामो साइकल यात्रा गर्न प्ररित गर्यो। कात्र्तिक १० गते गाडीमा हामी हेटौडाबाट झापाको काकडभित्ता पुग्यौं। ११ गते विहान मेचीपुलबाट साइकलयात्रा सुरु भयो।
पहिलो दिन इटहरी, दोस्रो दिन लहान बास बस्दै हाम्रो साइकल यात्रा अघि बढ्यो। साइकिल यात्रा निकै रमाइलो भयो। कतै कतै सडक खराब हुँदा अलि असहज थियो। प्रति दिन सय किलोमिटर साइकल यात्रा गर्ने हाम्रो लक्ष्य थियो। यात्राका क्रममा राजमार्ग आसपासका बस्ती र ठाउँहरु नियाल्यौं। पूर्व साइडमा खेतियोग्य जमिन बढि थियो। बारा–पर्सामा जंगल क्षेत्र धेरै थियो। त्यहाँ सुरक्षाकर्मीहरुले हामीलाई स्कर्टिङ गरेर सहज बनाइदिनुभएको थियो।

इटहरी, हेटौडा, भरतपुर, बुटवल लगायतका ठूला शहर सँगै राजमार्ग आसपास बजार क्षेत्र र बस्तीहरुका रमणीय दृष्यहरु देख्न पाइयो। बर्दियामा फेरी अझ घना जंगल थियो। रातीको समयमा लाइट टर्च केही थिएन। एक जना साथीले टर्चलाइट बालेर यात्रामा सहयोग गर्नुभयो।यात्रा निकै रमाइलो कतै कतै जंगली जनावरको डर थियो।
यात्राका क्रममा व्यक्तीगत रुपमा मलाई लागेको कुरा के भने पूर्वका मान्छे भन्दा पश्चिमका मान्छेको व्यवहार राम्रो र सहयोगी पाएँ। पूर्वतिर चिनेको मान्छेहरुले मात्र चासो दिने गर्दथे भने पश्चिममा नचिनेको मान्छेहरुले पनि पानी सोध्ने राम्रो व्यवहार गर्नुभएको थियो। चितवन कटेपछि स्थानियहरुको व्यवहार एकदम सहज लाग्यो। यात्राका क्रममा तराई र भित्री मधेशका भुभाग, अनि केही पहाडी ठाउँको पनि यात्रा गर्नुपर्दथ्यो। साइकल यात्रामा धेरै जिल्लाहरु पहिलो पटक पुगेंँ।
हामी बजार क्षेत्रमा सहजताका साथ बसेका छौं। तर कतिपय ठाउँमा अझै पनि दुख कष्ट गरेर मान्छेहरु बसिरहेका छन्। कतै कतै देख्दा १८ सताब्दीको जस्तो झल्को देखिने पिछडिएका बस्ती थिए। महाकाली पारीको चाँदनी दोधारा हाम्रो साइकल यात्राको अन्तिम गन्तव्य थियो। ति बस्तीहरु फरक खालको रहिछ फिल्ममा देखेको जस्तो बस्ती लाग्यो। यस अघि मैले बढिमा ५० किलोमिटर जति मात्र साइकलयात्रा गरेको थिएँ। यो पटक लगातार झण्डै १ हजार किलोमिटर बढि साइकल यात्रा गरियो। हामी १० दिनमा झापाको मेचीपुलदेखि कञ्चनपुरको महाकाली पुगेका थियौं।

पर्यटन प्रवद्र्धनको लागि साइकलको निकै महत्व छ । सडक राम्रो भयो भने पर्यटकहरुको लागि साइकल एकदम उपयोगी हो। साइकल पर्यटक भुलाउने माध्यम पनि हो। टाढा टाढाको यात्राका लागि इन्धनबाट चल्ने सवारी साधन प्रयोग गरेपनि नजिकको लागि साइकल चलाउँदा धेरै राम्रो हुन्छ। नजिकको दुरीमा म प्राय साइकल नै चढ्छु। साइकल यात्रा मलाई रमाइलो लाग्छ।
(कुराकानीमा आधारित)

