२०८३ बैशाख १६ गते, बुधबार १७:०५
  • लुम्बिनीमा चल्न नसकेको विद्युतीय बसले नेपालगञ्ज विमानस्थलमा दियो निःशुल्क सटल सेवा

    नेपालगञ्ज-बाँकेको नेपालगञ्ज विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन भएको छ। विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दुरीमा रहेको राँझाचोकसम्म सटल बस सेवा सुरु गरिएको हो। लुम्बिनीमा चल्न नसकेर अलपत्र परेको मध्ये एउटा विद्युतीय बस नेपालगञ्ज विमानस्थलमा सटल सेवाको रुपमा प्रयोगमा आएको हो।

    यस्तै अरु दुई वटा बस सुर्खेत र धनगढी विमानस्थलमा सटल बसको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ। नेपालगञ्ज विमानस्थलमा सुरु भएको सटल बस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

    मंगलबार काठमाडौंबाट बुद्ध एयरमा आएका यात्रुलाई सटल बस मार्फत राँझाचोकसम्म पुर्याइ सटल बस सेवा सुरु गरिएको हो। यसैबीच मंगलबार विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । काठमाडौंबाट आएका यात्रुले नयाँ टर्मिनल भवन प्रयोग गरेका थिए।