केही दिन भित्र विमानस्थलहरुमा सटल बसको रुपमा सञ्चालन हुने

बुटवल – लुम्बिनीमा लामो समयसम्म अलपत्र परेका पाँच वटा मध्ये ३ वटा विद्युतीय बस पश्चिमका विभिन्न शहरमा पुगेका छन्। केही साता अघि लुम्बिनी विकास कोषबाट ति बस नेपाल नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण भएपछि विद्युतीय बस लुम्बिनीबाट ल्याएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो।
भैरहवा विमानस्थलमा राखिएका ५ मध्ये ३ वटा बस नेपालगञ्ज विमानस्थलमा पठाइएको थियो। बैशाख ५ गते पुगेका ३ वटा मध्ये एउटा बस नेपालगञ्ज विमानस्थलमै राखिएको छ। एउटा बस सुर्खेत र अर्को बस धनगढी पठाइएको छ।
तीन वटै शहरका विमानस्थलमा अबको केही दिनमा विद्युतीय बस सञ्चालनमा आउने छन्।
नेपालगञ्ज विमानस्थलका प्रमुख सुम्मत प्रसाद चौधरीले एक दुई दिनमा विद्युतीय बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। ‘बस सञ्चालनको लागि कार्यविधि हामीसमक्ष आइसकेको छ, त्यस अनुसार सञ्चालन गर्छौं। अहिले चाजिङ स्टेसन बनाउने काम भइरहेको छ।’ उनले भने ‘अबको एक दुई दिनमा विमानस्थलदेखी राँझा चोकसम्म विद्युतीय बस सञ्चालनमा ल्याउँछौं।’ यात्रुको सहजताको लागि डेढ किलोमिटर दुरीमा निशुल्क सटल बससञ्चालन गर्ने चौधरीले जानकारी दिए।
त्यसैगरि धनगढी विमानस्थलमा पनि विद्युतीय बस सञ्चालनको तयारी भइरहेको छ। बैशाख १४ गतेदेखी बस सञ्चालनमा ल्याउने विमानस्थलका सूचना अधिकारी धर्मसिंह रानाले जानकारी दिए। ‘धनगढी विमानस्थल देखी भिमदत्त पन्त राजमार्गको सडकसम्म बस चल्ने छ। २ किलोमिटरमा हामीले निशुल्क सेवा दिने छौं ।’ उनले भने ‘बैशाख १४ गतेदेखी हामीले चलाउने तयारी गरेका छौं।’
भैरहवाबाट नेपालगञ्ज हुँदै मंगलबार विहान विद्युतीय बस सुर्खेत पुगेको थियो । १५ गतेबाट विद्युतीय बस सञ्चालनको तयारी गरिएको सुर्खेत विमानस्थलका म्यानेजर हिराजन काफ्लेले जानकारी दिए। ‘विमानस्थलबाट नजिकको मुख्य सडकसम्म विद्युतीय बस सञ्चालन हुन्छ। एक किलोमिटर दुरीमा बस चल्दा यात्रुलाई सहज हुने छ।’ उनले भने।
लुम्बिनी विकास कोषबाट पाँच वटा विद्युतीय बस नेपाल नागरिक उड्यन प्राधिकरण मातहत आएका थिए। जस मध्ये दुई वटा बस पोखरा विमानस्थलमा, एक÷एक वटा बस सुर्खेत, नेपालगन्ज र धनगढी विमानस्थलमा पठाउने संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट निर्णय भएको थियो।
३ वटा बस पश्चिमका शहरमा पुगेको भएपनि बाँकी दुई वटा विद्युतीय बस अहिले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै राखिएको छ। बस भैरहवामै रहन्छन् कि पोखरा जाने भन्ने थप निर्णय हुन बाँकी रहेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए। ‘अहिलेलाई दुई वटा बस यही छ। भैरहवा विमानस्थलले नै दुई वटा बस चलाउनुपर्छ भनेर कुरा उठेको छ।’ उनले भने ‘सटल बसले यहाँका यात्रुलाई सहज हुन्थ्यो भन्ने चाहाना छ। निर्णय के आउँछ त्यही अनुसार होला।’

