
लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुको बसाइँ अवधि लम्ब्याउने योजना आवश्यक भएको एक कार्यक्रममा बताइएको छ। नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा भएको मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन अन्तर्गत आइतबार लुम्बिनीमा पर्यटनः पर्यटक र पैसा कसरी भित्राउने भन्ने विषयमा छलफल राखिएको थियो।
छलफलमा सहभागीहरुले गुणस्तरिय पर्यटकमा जोड दिनुपर्ने, लुम्बिनी आएका पर्यटकलाई अन्य बुद्ध स्थल र गन्तव्यमा पुग्ने वातावरण बनाउनुपर्ने, आवश्यक पर्यटकीय पूर्वाधार बनाउनुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले पर्यटकको सहजताको लागि सूचना केन्द्र निर्माण गर्नुका साथै अन्य प्रवद्र्धनको काम गरिरहेको उल्लेख गरिन्। ‘सूचना केन्द्रबाट बुद्धसर्किटका पालिका र लुम्बिनी प्रदेशका विभिन्न गन्तव्यको बारेमा जानकारी दिन्छौं।’ उनले भने ‘बसाइ लम्बाउन सानो भएपनि प्रयास गरेका छौं।’ हरिजनले पर्यटन प्रर्वद्धनको कार्यक्रमको लागि आफूहरुसँग पर्याप्त श्रोत नभएको बताइन्।
पर्यटनविद तथा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा.हरिध्वज राईले पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण आवश्यक रहेकोमा जोड दिए। ‘पर्यटकको बसाई अवधि बढ्नेबित्तिकै पर्यटन क्षेत्रको विकास हुन्छ’ उनले भने, ‘पुस्ता अनुसार गन्तव्य फरक हुन सक्छन्।’ गन्तव्यको छवि जति माथि उठ्छ त्यत्ति नै त्यसको ब्राण्डिङ हुने राइको भनाइ छ।
पर्यटन व्यवसायी सागर अधिकारीले कस्तो पर्यटक भित्र्याउने ? भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको बताए। पर्यटकको बसाई अवधि बढाउने खालका कार्यक्रमहरु लुम्बिनी विकास कोषले ल्याउन सक्नु पर्ने र भैरहवा र बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्नुपर्ने उनले धारणा राखे। नेपालको सन्दर्भमा पर्यटक भित्र्याउने र पैसा भित्र्याउने फरक विषय भएको बुझाइ भन्दै अधिकारीले। सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा उनले जोड दिए।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख मुक्ति प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताए। पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको दावी उनले गरे। ‘प्रदेश सरकारले पर्यटकलाई ल्याउन र बसाई अवधि लम्ब्याउन विभिन्न जिल्लामा होमस्टेसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ’ पाण्डेले भने।
पत्रकार भरत के.सी.ले लुम्बिनी र बुटवलमा आउने पर्यटक फरक भएको बताए। टुर प्याकेज बनाउँदा लुम्बिनीसहित अन्य गन्तव्यलाई समेटेर बनाउन आवश्यक रहेको उनले औंल्याए। कार्यक्रममा सहभागीहरुले व्यवसायी एकातिर र सरकार अर्कोतिर रहेकोले पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन नसकेको उल्लेख गरे। कार्यक्रममा अन्य सहभागीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्नुपर्ने, लुम्बिनीसँगै प्रदेशका अन्य पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए।

