
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटनको उत्कृष्ठ गन्तव्य रुपमा विकास गर्न सकिने एक कार्यक्रममा बताइएको छ। लुम्बिनीमा अध्यात्मीक वातावरण निर्माण गरि आरोग्य पर्यटनलाई अगाडि बढाउनुपर्ने कार्यक्रममा सहभागीको भनाइ छ। नेपाल नेपाल पर्यटन बोड अन्तर्गत एटिपी परियोजनाको सहकार्यमा लुम्बिनी होटल संघले आयोजना गरेको कार्यक्रममा पर्यटन विज्ञ तथा सरोकारवालाहरुले अरोग्य पर्यटनको वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र स्थानियको सामुहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले लुम्बिनीलाई अध्यात्मिक आरोग्य हब बनाउने गरि मन्त्रालय अघि बढेको जानकारी दिइन्। ‘मन्त्रालयले विभिन्न आरोग्य हब बनाउने परिकल्ना गरेको छ। त्यस मध्ये लुम्बिनी पनि पर्छ। बुद्धधर्मप्रति आस्था प्रतिविम्बित हुने गरि हामीले लुम्बिनीको विकास गर्नुपर्छ।’ उनले भनिन् ‘भैरहवाबाट पश्चिम लागेपछि गौतम बुद्ध जन्मेको ठाउँमा जाँदैछु भन्ने मनमा भाव पैदा हुनुपर्छ। त्यसको लागि लुम्बिनी विकास कोष, प्रदेश सरकार, स्थानिय सरकार, स्थानिय तह, निजी क्षेत्र मिलेर सबैलाई मान्य हुने गरि लुम्बिनीमा आरोग्य पर्यटनको विकास गर्नुपर्छ।’ सहसचिव घिमिरेले लुम्बिनी विकास कोषको ऐन नयाँ बनाउन लागेको भन्दै त्यसमा पनि आरोग्य पर्यटनका कुराहरु समावेश हुने बताइन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले अध्यात्मीक वातावरण बनाउन आफूहरुले प्रयार गरिरहेको बताइन्। त्यसको लागि लुम्बिनी विकास कोष र संघिय सरकारको पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्। प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास परिषदकी कार्यकारी निर्देशक सारदा बस्यालले आरोग्य पर्यटन हबको लागि सबैको सहकार्यमा ठोस कार्ययोजना बनाउनुपर्ने बताइन्।
नेपाल पर्यटन बोर्डका अनुसन्धान तथा योजना निर्देशक लक्ष्मण गौतमले अरोग्य पर्यटनका विभिन्न पक्षहरुबारे जानकारी दिँदै लुम्बिनी उत्कृष्ठ हब बन्न सक्ने उल्लेख गरे। बोर्डका एसटिपी परियोजना प्रमुख धर्म दवाडिले लुम्बिनीलाई वेलनेश पर्यटनसँग जोडेर कार्यक्रम ल्याएको बताए। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी अधिकृत करुणा आचार्यले मन्त्रालयले आरोग्य पर्यटनको रणनीति बनाएकाले त्यसको लागि सुझाब संकलन गर्न लुम्बिनी आएको जानकारी दिइन्।
लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मैत्तेयले बुद्ध जन्मस्थलमा अध्यात्मीक वातावरण निर्माण गर्न सके ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरे। कोषका बरिष्ठ अधिकृत डा.हरिध्वज राइले पर्यटक भएर यात्रा गर्दा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भयो भने आरोग्य पर्यटनको अर्थ हुने उल्लेख गरे। वरिष्ठ पुरातत्वविद बसन्त विडारीले आरोग्य पर्यटनको वातावरण प्रवेशविन्दु सिमानाका देखिनै हुनुपर्ने धारणा राखे। सञ्चारकर्मी दिपेन्द्र बडुवालले लुम्बिनी विकास कोषको व्यवस्थापन स्वस्थ भएमा मात्र आरोग्य पर्यटनको वातावरण तयार हुने बताए।
लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सीपी श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, पर्यटन व्यवसायी पूरुषोत्तम अर्याल, किशोर जाशी लगायतले लुम्बिनीलाई आरोग्य पर्यटन हबको रुपमा विकास गर्न निजी क्षेत्रले पनि सहयोग गर्न तयार रहेको बताएका थिए। कार्यक्रममा सहभागीहरुले लुम्बिनी परिसरको वातावरण अध्यात्मिक हुनुपर्ने, बाहिरको बजार क्षेत्र सुन्दर हुनुपर्ने, पर्यटकलाई दुख दिने प्रवृत्ती हुन नहुने, लुम्बिनीको अध्यात्मीकसँगै प्राकृतिक रुपमा पनि मनोरम हुनुपर्ने धारणा राखेका थिए।


