२०८३ भाद्र २१ गते, आईतवार १६:०६
  • अंग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पामा भगवती जात्रा निकालियो

    तानसेन -पाल्पाको तानसेनमा रणउजेश्वरी भगवती रथयात्रा निकालिएको छ। नेपाल अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा शनिबार रथयात्रा निकालिएको हो। वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा युद्धमा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको थियो। विजयी भएपछि आफ्नो भाकल अनुसार उजिरसिंहले तानसेनमा भगवती जात्रा निकालेका थिए।

    त्यसको सम्झनामा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा निकाल्दै आएको छ। यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ। नेपाली सेनाले भगवतीको रथलाई अपराह्न्न १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो।

    भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराइएको थियो। जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो। विगतका वर्षजस्तो बाजागाजा सहित सांस्कृतिक झाँकी निकालिएन। देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा रथ निकालिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताए। उनले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे ।