२०८३ मंसिर ९ गते, मंगलवार १९:३१
  • ‘लुम्बिनी बाइ साइकल अभियान’को सुरुवात, साइकलबाट बुद्धजन्मस्थल आसपासका गाउँ घुम्न सकिने

    लुम्बिनी -लुम्बिनी बाइ साइकल अभियानको सुरुवात गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरुले अब आसपासका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेर लिन सक्नेछन्। नेपाल पर्यटन बोर्डको एस टीपी परियोजना अन्तर्गतको परियोजनाको सहयोगमा लुम्बिनी होटल संघ नेपाल र साइकल सिटी नेटवर्क नेपाल को संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

    कार्यक्रममा लुम्बिनीका तीनवटा साइकल ट्रेलहरू – मैत्री मार्ग (८ कि.मि.), प्रज्ञा मार्ग (१६ कि.मि.) र करुणा मार्ग (२४ कि.मि.) को उद्घाटन गरिएको थियो। साथै, ८ किलोमिटरको मैत्री मार्गमा साइकल र्याली आयोजना गरिएको थियो।

    यो अभियानले लुम्बिनीको पर्यटनलाई धार्मिक दर्शनमा मात्र सीमित नराखी प्रकृति, संस्कृति, स्थानीय जीवनशैली र समुदायको आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल र शान्त वातावरणसँग जोड्नुपर्नेमा जोड दिइन। उनले भविष्यमा लुम्बिनी दर्शन गर्न आउने भक्तजनले समेत साइकल प्रयोग गरेर तीर्थस्थलको भ्रमण गर्न सके वातावरण थप स्वच्छ र शान्त बन्ने बताइन।
    साइकल स्वास्थ्यका लागि पनि लाभदायक रहेको भन्दै उनले यात्रामा सहभागी सबैलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरिन ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्ग विक्रम शाहले पर्यटनको विकास गर्दा वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताए । लुम्बिनी र ग्रेटर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोड्दै ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई पर्यटकसमक्ष पुर्‍याउने प्रयास महत्वपूर्ण रहेको उनको भनाइ थियो।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, सरसफाइ र पर्यटन प्रवर्द्धनका लागि अभियानले सकारात्मक भूमिका खेल्ने बताइन । यसलाई सफल बनाउन स्थानीय सरकार, लुम्बिनी विकास कोष, होटल व्यवसायी र पर्यटन क्षेत्रका सबै पक्षबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो।

    लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनीको वास्तविक पहिचान पर्खालभित्र मात्रै सीमित नरहेको बताए । लुम्बिनीको पर्खालबाहिर पनि संस्कृति, सम्पदा, परम्परा, खाना र मौलिक जनजीवन रहेको भन्दै उनले ती पक्षलाई विश्व पर्यटन बजारसम्म पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरे ।

    पर्यटक गाउँसम्म पुग्न थालेपछि स्थानीय उत्पादनको बिक्री बढ्ने, हस्तकलाले बजार पाउने, गाउँघरमा चिया, कफी तथा स्थानीय परिकारको व्यवसाय विस्तार हुने र स्थानीय बासिन्दाले आतिथ्य सेवाबाट आम्दानी गर्न सक्ने उनको विश्वास छ।

    पहिलो मैत्री मार्ग आठ किलोमिटर लामो छ। दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यो मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन र ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ। स्थानीय हस्तकला केन्द्रसम्म पुग्ने यो मार्ग साइकल यात्रा सुरु गर्ने नयाँ पर्यटकका लागि सहज मानिएको छ।

    दोस्रो प्रज्ञा मार्ग १६ किलोमिटर लामो छ। चारदेखि पाँच घण्टा लाग्ने यो यात्रामा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। यस मार्गमा कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलसमेत समेटिएका छन्।

    तेस्रो करुणा मार्ग २४ किलोमिटर लामो छ। सातदेखि आठ घण्टासम्म लाग्ने यो मार्गले पर्यटकलाई लुम्बिनीको अझ भित्री ग्रामीण परिवेशसम्म पुर्‍याउँछ। नदी पारका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलहरू यस यात्राका आकर्षण हुन्।

    यी तीनवटै मार्गले लुम्बिनी आउने पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विश्वास गरिएको छ।