
लुम्बिनी -वृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागीता रहने भएको छ। नेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैंकको संयुक्त आयोजनामा यही असोज २ गतेदेखी ४ गतेसम्म लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सम्मेलनमा उच्च पदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद, पर्यटनविद, विकास साझेदार एवं स्थानिय प्रतिनिधिहरुको सहभागीता रहने बुधबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। जस अनुसार १५० जना भन्दा बढि प्रत्यक्ष रुपमा सहभागी हुने र सय भन्दा बढिले अनलाईन मार्फत आफ्ना सहभागी भइ आफ्ना विचारहरु राख्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राइले जानकारी दिए। कार्यक्रममा संघ, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिका साथै स्थानिय समुदायदेखी विदेशी पाहुनाहरुको सहभागीता रहने उनले बताए। सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खडक राज बस्नेत गनेसले उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा बृहत्तर लुम्बिनी क्षेत्रको रुपान्तरणका लागि सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेसी स्थानिय आर्थिक विकासमा केन्द्रीत रहेर साझा कार्यायोजना तयार गरिने युनेस्कोकी संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले जानकारी दिइन्। ‘सम्मेलन अन्तर्गत पूर्ण सत्र, प्राविधिक प्रस्तुतीकरण तथा विश्वका प्रमुख ऐतिहासिक सम्पदा स्थलहरुको तुलनात्मक अध्ययनका आधारमा वस्तुनिष्ठ तथ्यगत ढाँचा तयार पारिने छ।’ उनले भनिन् ‘जसले सम्पदा अनुकुल आगन्तुकको व्यवस्थपन, दिगो पर्यटन, समन्यायिक स्थानिय लाभ साझेदारीका कार्यन्वयन योग्य प्राथमिकताहरुको साथै भावी नीति निर्माण र विकासका लागि स्पष्ट मार्गनिर्देशन गर्नेछ।’
सम्मेलनका निष्कर्षहरुले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनालाई प्रत्यक्ष रुपमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको बस्न्यातले बताइन्।

