२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा जाने पर्यटकसँग शुल्क लिने

    पोखरा-कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ। गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो। सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।

    पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए।
    पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए।
    माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन्।

    स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए।
    यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो।