२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • बुटवलका होटललाई भानुभक्तको सुझाब: साइकल भाडामा दिनुस् पर्यटकको बसाइ लम्बिन्छ


    बुटवल -मेची महाकाली साइकल यात्रा गरिरहेका मकवानपुरका भानुभक्त आचार्यले साइकल मार्फत पर्यटकको बसाइ लम्बाउन सकिने बताएका छन्। कात्र्तिक ११ गते मेचीपुलबाट साइकल यात्रा सुरु गरेर बुटवल आएका उनी सहित १३ जनाले शुक्रबार जितगढी किल्लाको अवलोकन गरेका थिए। जितगढीको अवलोकनपछि बुद्धपरिपथसँग कुरा गर्दै साइकलयात्री आचार्यले बुटवलमा पनि साइकल पर्यटनको सम्भावना भएको बताए।

    पत्रकार समेत रहेका आचार्यले होटलहरुले साइकल भाडामा दिने हो भने पर्यटकको बसाइ पनि लम्बीने उल्लेख गरे। ‘होटलमा आएका पाहुनाहरुलाई सिद्धबाबा, फूलबारी, जितगढी, नुवाकोट लगायतका ठाउँ चिनाएर यति किलोमिटर छ भनेर घुम्न सक्ने गरि भाडामा साइकल उपलब्ध गराउन सकिन्छ।’ उनले भने ‘यसो गर्न सक्यो भने बुटवल आउने पर्यटकको बसाइ अझ एक दुई दिन लम्बिन्छ।’

    आचार्यले हेटौंडामा पनि केही होटलहरुलाई तीन चार वटा साइकल राखेर पर्यटकलाई सुविधा दिन आफूले भनेको उल्लेख गरे।
    युवापुस्तालाई पनि साइकल तर्फ आकर्षित गराउनुपर्ने भन्दै उनले छोटो दुरीमा साइकल प्रयोग गर्दा राम्रो हुने बताए। ‘पाँच १० किलोमिटरको क्षेत्रमा मोटरसाइकल नचढी साइकलले पनि काम चलाउन सकिन्छ। साइकलले पनि आफ्नो दैनिक जिवन यापन सहज बनाउन सकिन्छ’ उनले भने ‘पर्यटन प्रवद्र्धनसँगै युवाहरुलाई साइकलप्रति प्रोत्साहन गर्न पनि हामीले मेची महाकाली यात्रा गरेका हौं।’