२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • साइकलबाटै देशका सबै पालिकामा पुग्दै ७० वर्षिय रामभक्त

    बुटवल-उमेरले ७० वर्ष पुगेका रामभक्त कौडिन्य प्याकुरेल दुई वर्ष भन्दा बढि समयदेखी साइकलमा यात्रा गरिरहेका छन्। मोरङको रतुवामाइ नगरपालिका वडा नम्बर ८ डाम्राभिट्टाका रामभक्तले २०७८ साल मंसिर ९ गतेदेखी साइकल यात्रा थालेका हुन्।

    साइकलबाटै देशका ७५३ वटा स्थानिय तहमा पुग्ने उनको योजना छ। विहिवार अपरान्ह सैनामैना ९ बाँसगढीमा साइकल चलाइरहेको अवस्थामा भेटिएका रामभक्तले ४३५ वटा स्थानिय तह पार गरेर आएको सुनाए। ‘अहिलेसम्म ४३५ वटा स्थानिय तह पार गरें। सैनामैना ४३६ औं पालिका हो।’ उनले भने ‘शान्तिको लागि मैले ७५३ वटा पालिका साइकलमा घुमेर रेकर्ड राख्न खोजेको हो।’हालसम्म कोसी, मधेश, बागमती र गण्डकीका पालिकामा रामभक्त पुगिसकेका छन्। लुम्बिनी प्रदेशको आधा जति पालिकामा पुग्न बाँकी रहेको सुनाए।

    शान्तीको लागि देशभर घुमिरहेको रामभक्तले बताए। ‘मनमा अशान्ती भयो भने जसले पनि शान्ती खोज्छ। देशमै अशान्ती छ। राजनीति नै अशान्ती भयो।’ उनले गुनासो गरे।पालिकाका कार्यालयहरुमा पुगेर उनले जनप्रतिनिधिहरुसँग पनि भेट्ने गर्छन्। कुनै पालिकाले प्रमाणपत्र दिएका छन्। कतै खादामाला र धन्यवाद मात्र पाउँछन्। पालिकासँगै विभिन्न संघसंस्था र व्यक्तीहरुले पनि उनको साइकल यात्राको लागि खर्च र व्यवस्था गरिदिने गरेका छन्।

    साइकल यात्राको क्रममा विचमै साइकल छोडर उनी आफ्नो घर मोरङ पनि पुग्ने गरेका छन्। अब साउन महिनामा यात्रा केही समय विश्राम गरेर घर पुग्ने उनले बताए। ‘बृद्धभत्ताको कार्ड नविकरण गर्न छ । त्यसैले साउनमा जान्छु।’ रामभक्तले भने। रात लामो भएका कारण गर्मी समय भन्दा जाडोमा रामभक्तको दैनिक यात्रा अवधि कम हुने गर्दछ। विहान ढिला यात्रा सुरु गरेर साँझ छिट्टै साइकल विश्राम दिनुपर्छ।

    पालिकाहरु घुम्दा उनले विभिन्न प्रकारका भुगोल, संस्कार र अवस्था देखेका छन्। गाउँका खेतबारी बाँझा हुँदा रामभक्तलाई दुख लागेको छ। ‘खेतबारीहरु बाँझा छन्। मानामुरी अन्न फल्ने खेलमा उतीस उम्रेर जंगल भएको छ।’ उनले भने ‘घर छ, तर बस्ने मान्छे छैनन्। विकासको लागि विनास भएको हो कि जस्तो लाग्छ।’

    मुलुकको विकासको लागि पहिले कृषि र उद्योगमा विकास गर्न रामभक्तको सुझाव छ। ‘पहिले कृषिमा विकास गर्नुपर्छ। त्यसपछि उद्योगमा गर्नुपर्यो। त्यसो भएमा मात्र हाम्रा भावि सन्तानले सुख पाउँछन्।’ उनले भने।