२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • ‘बुद्ध परिपथमा साइकल पर्यटनको राम्रो सम्भावना छ’

    ४०१५ दिनको विश्व यात्रामा सगरमाथाको उचाइमा पुग्दा सबभन्दा आनन्दको क्षण

    लुम्बिनी-पुष्कर शाह विश्व साइकल यात्रीको रुपमा परिचित छन्। २०५५ सालमा साइकल यात्रा सुरु गरेका उनी २०६६ सालमा विश्व भ्रमण सकेर नेपाल फर्के। २०६७ सालमा सगरमाथा आरोहण गरेर शाहले विश्व साइकल यात्राको समापन गरेका थिए। ‘मैले झण्डै ४ हजार १५ दिन घुमें। १५० वटा देशमा पुगें।’ उनले भने ‘हरेक दिन बदलिरहने हावापानी, वातावरण, प्रकृति, भाषा, खानेकुरा, रहनसहन, धर्म सस्कृति मान्छेका व्यवहारको अनुभव लिन पाएँ।’

    घर छोडिसकेपछि साइकल यात्राका क्रममा उनले थुप्रै अभाव अफ्ठ्यारो र हरेक कुराको चुनौति बेहोर्नुपर्यो। विश्व यात्राका क्रममा पुष्करलाई सबै भन्दा आनन्दको क्षण भने संसारकै उचाइमा पुग्दा भयो। ‘जतिबेला मैले संसारलाई दुरीको हिसाबले साढे ५ फन्को लगाएर सगरमाथाको टुप्पोमा पुँगे। केही क्षण केही मिनेट सगरमाथा भन्दा पनि अग्लो भएर उभिएँ।’ उनले सम्झे ‘त्यही नै हो मेरो अत्यन्तै आनन्दको दिन थियो।’

    विश्व यात्रा सकेको १३ वर्षपछि पुष्करले बुद्ध परिपथमा साइकल यात्रा गरेका छन्। बुद्ध ज्ञान साइकल यात्रामा सहभागी भएर शुक्रबार र शनिवार उनी सहित २ सय बढि साइकलयात्रीहरुले भैरहवाबाट यात्रा सुरु गरि रामग्राम, देवदह, तिलौराकोट लगायत कपिलबस्तुका बुद्धस्थलहरु घुमेर लुम्बिनी हुँदै भैरहवा आइपुगे।

    साइकल सिटी भैरहवाको आयोजनामा भएको यात्रामा उनी सहितका नेपाल, भारत र चिन लागयतका देशका साइकल यात्री सहभागी थिए। साइकल यात्रापछि शाहले बुद्धपरिपथमा साइकल पर्यटनको राम्रो सम्भवना रहेको सुनाए। ‘बुद्धपरिपथमा पनि साइकलबाट यात्रा गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ। बुद्ध ज्ञान साइकल यात्राले देश र विदेशमा राम्रो सन्देश जाने छ।’ उनले भने ‘ हामीले प्रचार प्रसार गरेर हुँदैन। स्थानिय, प्रदेश र संघिय सरकारले पनि साइकलबाट बुद्ध परिपथमा यात्रा गर्न सकिन्छ भनेर प्रचार प्रसार गर्न जरुरी छ।’

    बुद्धको जन्मस्थल लुम्बिनी, राज्य तिलौराकोट, माओली देवदह, रामग्राम महत्वपूर्ण स्थल भएको तर पर्यटन प्रवद्र्धन गरेर विश्व सामु चिनाउन अझै नसकिएको शाहले बताए। ‘मानव निर्मित फलामका आइफल टावर हेर्न मात्र पेरिसमा बार्षिक ६ करोड भन्दा बढि मान्छे जान्छन्।’ उनले भने ‘त्यही तरिकाले प्रचार प्रसार गरेमा लुम्बिनीमा पनि बार्षिक करोडौ पर्यटक ल्याउन सकिन्छ।’

    विश्व साइकल यात्री शाहले नेपाल माउन्टेन बाइकिङको लागि पनि स्वर्णभूमि भएको उल्लेख गरे। अबको पर्यटन साइकल पर्यटन भनेर आफूहरु लागिरहेको शाहले सुनाए। ‘साइकल वातवरणीय हिसाबले पनि सुन्दर पक्ष भयो। शारीरिक स्वास्थ्यको हिसाबले पनि सुन्दर पक्ष हो।’ उनले भने ‘कहीं छहरा देख्नुभयो, कतै खोला देख्नुभयो, ठूलो रुख चौपारी देख्नुभयो भने पनि साइकलमा हेर्दा त्यही नै बसेर फोटो खिचेर रुखलाई अंगालो मारेर नदिमा पौडी खेलेर झरनामा नुहाएर, बालुवामा सुतेर यात्रा गर्न सकिन्छ।’

    अरु यातायातका साधनमा यो सम्भव नभएको र यात्रामा एकै सेकेण्डमा देखिएका सुन्दर झरना पनि तुरुन्तै काटिने उनको भनाइ छ। प्रकृतिसँग अत्यन्तै नजिक भएर यात्रा गर्न सकिने साइकल यात्राको सुन्दर पक्ष भएको शाहको भनाइ छ।