२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • यो वर्ष होला त भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान ?

    महाप्रबन्धक तिवारी भन्छन्ः छुट सुविधा र यात्रुहरुलाई झन्झटीलो प्रक्रिया हटाएमा उडानको वातावरण बन्छ

    भैरहवा -ठीक २ वर्ष अघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। उद्घाटन भएको दुई वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडानले गति लिन सकेको छैन। विचमा केही समय जजिरा एयरवेज र हिमालयन एयरलाइन्सले उडान गरेका थिए। तर निरन्तरता पाएन।

    हाल नेपाल बायु सेवा निगमको विमानले सातामा एकपटक मलेसियको क्वालालाम्पुरबाट भैरहवा एकतर्फी उडान गरेको छ। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीहरुले दबाब दिइरहेका छन्। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन। उद्घाटन भएको दुई वर्ष पुगको अवसरमा हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई यो वर्ष भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना कस्तो छ भनेर सोधेका छौं।

    बुद्ध परिपथसँग कुरा गर्दै महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय उडानको सम्भावना र पहलको बारेमा यसरी बताए।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित होस भनेर केही वे आउटहरु हामीले खोजिरहेका छौं। आइएलएसको विकल्प आरएनपीबाट खोजिरहेका छौं। जाडो याममा लो भिजिलिटीमा पनि ल्याण्ड गर्न सक्ने व्यवस्था भयो भने धेरै जहाज डाइभर्ट हुनुपर्दैन। विभिन्न एयरलाइन्सहरुले छुट सुविधाका कुराहरु गरिहेका छन्। यात्रुहरुलाई झन्झटिलो प्रक्रिया घटाउनुपर्ने छ। उनीहरुलाई विमानस्थल प्रयोगप्रति आकर्षित गर्नुपर्ने छ। यी सबैलाई सम्बोधन गर्ने गरि आगामी कार्यक्रमहरु आएमा एयरलाइन्सहरुले यहाँबाट उडान गर्ने वातावरण बन्छ। त्यसको लागि हामीले पहल पनि गरिरहेका छौं।
    भरखर आएको संघिय सरकारको नीति तथा कार्यक्रममा पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष प्रोत्साहनको प्याकेजको व्यवस्था गरिने उल्लेख छ। छुट र सुविधाका कुरा बजेटमा स्पष्टसँग आउला। त्यसले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको वातावरण बन्ला।

    छुटहरुको व्यवस्था भएमा सस्तोमा यात्रुहरु आकर्षित गर्ने खालको प्याकेज ल्याउँछौं भनेर एयरलाइन्सहरुले भनेका छन्। हामीले पनि त्यस खालको वातावरण बनाउन विभिन्न निकायहरुसँग पहल गरिरहेका छौं। नागरिक उड्यन प्राधिकरणबाट हुनुपर्ने कतिपय छुटका कुराहरु हामीले दिएका छौं। इन्धनको छुट्का कुरा आयल निगमले गर्नुपर्छ। ग्राउण्ड हेण्डलीङ तर्फ नेपाल एयरलाइन्सले छुट दिनुपर्ने हुन्छ। कतिपय एयरलाइन्सहरुले ट्रान्जिट कार्गोको कुराहरु गरिरहेका छन्। कुनै एयरलाइन्सले यहाँ नै बेस राखेर गर्ने कुराहरु मसँग गर्नुभएको छ। ट्राफिक राइटका कुराहरु छ। कुन देशको विमानलाई कस्तो खालको फ्रिडम दिने त्यो नागरिक उड्यन मन्त्रालय र प्राधिकरणले निर्णय गर्नुपर्ने छ।

    मन्त्रालय स्तरमा पनि विभिन्न एयरलाइन्सहरुसँग कुरा भइरहेको छ। विमानस्थल नचलेको प्रति उद्योगी व्यवसायी लगायत सबैको गुनासो छ। नीजि क्षेत्रबाट यहाँ धेरै लगानी भएको छ। यती ठूलो पूर्वाधार सञ्चालनको लागि राज्यको पनि चासोको विषय हो। के गर्दा सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा सरकार पनि लागि रहेको छ। हामी पनि आफ्नो तर्फबाट पहल गरिहेका छौं।