२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

    लुम्बिनी- रुपन्देहीको देवदह स्थित खयरडाडाँमा साँढे तीन फिट गहिरो इट्टाको प्राचिन इनार भेटिएको छ। देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि उत्खनन् गरिरहेको छ। उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन इट्टाको इनार भेटिएको हो।

    गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो इट्टाको प्राचिन इनार भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए। ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस९तल्लो भाग० सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने । उनका अनुसार प्राचिन इनार भएपनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै यकिन हुनेछ।

    इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताए। उत्खननका क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचिन इट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ। स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताए ।

    बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए। रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीको भनाइ छ। तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ। रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् । प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए। उनले खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामि दिनमा थप कदमहरु अगाडि बढाउने बताए।

    देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो। स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ।

    लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी अझै एक महिना चल्ने जनाइएको छ ।