२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • महलपोखरी हिलस्टेसनः पर्यटन तर्फ लुम्बिनी प्रदेशको सबैभन्दा बढि बजेट परेको ठाउँ


    सुनवल– नवलपरासी पश्चिमको महलपोखरी पर्यटन तर्फ लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा परेको ठाउँ हो। आर्थिक वर्ष २०८१/८२ मा महलपोखरीमा हिल स्टेसनको विकास गर्न १ करोड रुपैया विनियोजन भएको छ। यो पर्यटन तर्फ प्रदेशको सबै भन्दा बढि बजेट परेको ठाउँ हो। आगामी आर्थिक वर्षमा डिपिआर निर्माणको लागि १० लाख र पूर्वाधार निर्माण लगायत अन्य कामको लागि ९० लाख रुपैया विनियोजन गरिएको हो।

    सुनवल नगरपालिका वडा नम्बर ४ मा महलपोखरी उत्तर तर्फ चुरे पहाडको उचाइमा रहेको छ। सुनवल बजारबाट ११ किलोमिटरको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ। जस अनुसार ४ किलोमिटर मैदान र ७ किलोमिटर उकालो यात्रा गर्नुपर्छ।
    पाल्पाको सिमाना नजिक पर्ने महलपोखरीबाट हिमाली दृष्य देख्न सकिन्छ। यहाँ ऐतिहासिक गजदम्बा मन्दिर रहेको छ। स्थानियले होम स्टे सञ्चालन गरेका छन्।

    महलपोखरी क्षेत्रको विकासको लागि यस अघि नगरपालिकाबाट बर्सेनी बजेट विनियोजन हुँदै आएको सुनवल ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताए। ‘गजदम्बा मन्दिरको पूर्वाधार निर्माणका लागि नगरपालिकाले विगतमा १०–१५ लाखको दरले छुट्याउँदै आएको छ। यस वर्ष ६० लाख रुपैया विनियोजन भएको छ।’ उनले भने ‘प्रदेशले पनि बजेट विनियोजन गरेकाले अझ अब अझ धेरै काम होला।’

    महलपोखरी लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतको प्रदेश निर्वाचन क्षेत्र नवलपरासी पश्चिम २ (क) मा पर्दछ। आन्तरिक र बाह्य पर्यटकलाई भित्राउन सकिने सम्भावना भएकाले महलपोखरीलाई हिलस्टेसनको रुपमा विकास गर्ने योजना बनाएको मन्त्री बस्नेतले बताए। ‘महलपोखरीमा पौराणिक मन्दिर छ। मौसमको हिसाबले पनि राम्रो छ। सुनवल बजारमा ४० डिग्री तापक्रम हुँदा माथि साँझमा ज्याकेट लगाउनुपर्छ।’ उनले भने ‘भारतीय भूमिबाट ३६ किलोमिटरको दुरीमा भएकाले आन्तरिक मात्र नभइ बाहय पर्यटक पनि भित्राउन सकिन्छ भनेर हामीले हिल स्टेसनको रुपमा विकास गर्न लागेका हौं।’ सर्वपक्षिय टिम र विज्ञहरुसँग सल्लाह गरेर डिपिआर बनाउने र डिपिआर बनेपछि पूर्वाधार निर्माणका काम हुने मन्त्री बस्नेतको भनाइ छ।

    लुम्बिनी सरकारको बजेटमा प्रदेशका ५ ठाउँलाई हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख छ। पर्यटन प्रवर्द्धन गर्न नवलपरासी पश्चिमको महलपोखरीसँगै रोल्पाको रुण्टीगढी (होलेरी), पाल्पाको ख्याहा, दाङ्ग देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी क्षेत्रलाई पनि हिल स्टेशनको रुपमा विकास गर्न बजेट छुट्याइएको छ। यी ५ ठाउँ मध्ये सबैभन्दा बढि महलपोखरीलाई छुट्याइएको हो। यो क्षेत्रको विकास गर्न सके पर्यटकहरु बस्ने गरि आउने र नवलपरासी पश्चिममा उचाइको मुख्य पर्यटकीय स्थल बन्ने आशा गरिएको छ।