२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • पर्यटनविद भन्छन् : बुद्धस्थल जोड्नेगरि स्तरिय बस चलाउन निकै ढिला भइसक्यो


    बुटवल – पर्यटनविदहरुले बुद्धस्थल जोडने गरि स्तरिय सार्वजनिक बस सञ्चालन गर्न निकै ढिला भएको बताएका छन्। बुद्ध परिपथसँग कुरा गर्दै उनीहरुले बुद्धस्थलहरुलाई लक्षित गरेर यातायात सञ्चालन नहुँदा बुद्ध सर्किट अर्थात बुद्धपरिपथको अवधारणा सार्थक हुन नसकेको उल्लेख गरे। अहिले लुम्बिनी आएका पर्यटकहरुले अन्य बुद्धस्थलहरुसम्म पुग्ने वातावरण बनेको छैन। त्यो खालको वातावरण निर्माण गर्न तत्काल लुम्बिनीसँगै अन्य बुद्धस्थल जोड्ने गरि स्तरिय बस सञ्चालन हुनुपर्ने पर्यटन विज्ञको भनाइ छ।

    संस्कृति तथा पर्यटनविद प्राध्यापक डा. गीतु गिरिले बुद्धस्थलहरुमा स्तरिय बस सञ्चालनको लागि अब कत्ति पनि ढिला गर्न नहुने भन्दै सबै सरोकारवाला पक्ष मिलेर यसको पहल थाल्नुपर्ने बताए। ‘लुम्बिनी विकास कोषले ल्याएको गाडी नचलेर खिया लाग्दैछ। पहिले त पार्किङमा बसेका विद्युतिय गाडी चलाउन सबैले दबाब दिनुपर्यो।’ उनले भने ‘विद्युतीय गाडी चल्न सकेन भने सम्बन्धीत स्थानिय तह, होटल तथा ट्राभल व्यवसायीहरुले योजना बनाएर पर्यटनमैत्री बस सञ्चालन गर्न सक्छन्।’

    रामग्रामबाट पण्डीतपुर, कन्यामाइ, बैरिमाइ हुँदै देवदहबाट धकदयी, भैरहवा लुम्बिनी पुग्ने गरि बुद्ध सर्किटको पहिचान गरिएको छ। बुद्धपरिपथ अन्तर्गत लुम्बिनीबाट कुदान, गोटिहवा पिपरी तिलौराकोट निग्लीहवा भएर चार नम्बर निस्कने र त्यहाबाट सैनमैना बुटवल, हुँदै रामग्रामसम्म आउने छ। यी रुटमा पर्यटक घुम्ने गरि बस सञ्चालन गर्नुपर्ने गिरिको भनाइ छ । त्यो पनि नभए सुरुमा रामग्राम लुम्बिनी र तिलौराकोट स्तरिय बस संचालन हुनुपर्ने उनले बताए।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पर्यटन विषय समितिका प्रमुख डा. श्रीप्रसाद भट्राईले जतिसक्दो छिटो लुम्बिनी आएका पर्यटक अन्य बुद्धस्थलसम्म पुग्ने वातावरण बन्नुपर्ने बताए। लुम्बिनीको पार्किङमा साढे ३ वर्षदेखी अलपत्र गाडी कुनै पनि हालतमा सञ्चालन हुनुपर्ने भट्टराईको भनाइ छ। ‘चाडपर्वहरु पनि सुरु हुँदैछ, लुम्बिनीमा पर्यटकको चहलपहल पनि बढ्छ। अब कत्तिपनि ढिला नगरिकन सरकारले विद्युतीय बस सञ्चालन गर्नुपर्छ।’ उनले भने ‘यो बस चल्यो भने लुम्बिनीको पर्यटन र समग्र प्रदेशलाई धेरै माथि पुर्याउँछ।’

    लुम्बिनी विकास कोषले नसके बुद्धस्थलहरुमा विद्युतिय बस चलाउन बौद्ध विश्वविद्यालय तयार भट्टराईको भनाइ छ।
    अलपत्र परेको विद्युतीय गाडी जसरी पनि चल्नुपर्ने भन्दै उनले सबै सरोकारवालाहरुले यस विषयमा आवाज उठाउनुपर्ने बताए। ‘कानूनको कुन दफा र उपदफाले विद्युतीय गाडी चल्न रोकेको छ। त्यसलाई फास्ट ट्रयाकबाट संसोधन गरेर भएपनि यी गाडी गुड्नुपर्छ।’ डा. भट्टराईले भने। आँफूले यसबारे पर्यटनमन्त्री बद्री पाण्डेसँग पनि कुरा गरेको उनले सुनाए। डा.भट्टराईले बुद्धपरिपथमा पर्यटनमैत्री बस चल्दा पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने भएकाले अहिलेकै विद्युतीय गाडी चल्नुपर्ने धारणा राखे। यी गाडी नचले व्यवसायी र सरोकार वालाले पहल गरेर भएपनि बुद्धस्थल जोड्ने गरि स्तरिय बस सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।