बुद्ध जन्मस्थलबाट आएको भन्दै हामीलाई सम्मान र सद्भाव व्यक्त गरियो
तुल्सीराम लामिछाने
यही मंसिर १ गते एउटा महत्वपूर्ण कार्यक्रमको शिलसिलामा हामी छिमेकी मुलुक चिन प्रस्थान गर्यौं। लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली, लुम्बिनी संस्कृतिक ५ का वडाध्यक्ष खुर्सेद आलम मुशलमान, लेखा अधिकृत रामचन्द्र अर्याल र म चिनको युनान प्रदेश पुग्यौं।
त्यहाँको कुनमिङ विमानस्थलमा डुनहुवाङ नगरपालिका र कुनमिङ शहरका पदाधिकारी तथा कर्मचारीहरुले हामीलाई स्वागत गर्नुभयो। दोभासेको सहयोगमा हामी होटलमा पुग्यौं। नोभेम्बर १७ देखी २० अर्थात मंसिर २ गतेबाट ५ गतेसम्म चाइना इन्टरनेश्नल फ्रेन्डसिप सिटी कन्फ्रेन्स आयोजना भएको थियो । सोही कार्यक्रममा सहभागी हुन हामी चिनको कुनमिङ शहर पुगेका थियौं। चिनले आफ्नो देश एवम् सस्थागत सम्बन्ध कायम भएका नगरहरुको अन्तराष्ट्रिय सम्बन्ध थप मजबुद विस्तार गर्न सम्मेलन आयोजना गरेको थियो।
लुम्बिनी सांस्कृतिक नगरपालिका र चिनको डुनुहाङ नगरपालिका बिच पनि संस्थागत सम्बन्ध कायम भएको छ। पर्यटन प्रवर्द्धन र विकासका लागि अन्तराष्ट्रिय सम्बन्ध विकास तथा चिनका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने तथा अनुभव आदानप्रदान गर्ने यो सम्मेलनको उदेश्य थियो। सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, रसिया, जापान, दक्षिण कोरिया, नेपाल, युरोपका बिभिन्न देशका पालिकाहरु र अन्य देशका पालिकाहरु गरी करिब ४१ देशका ६०० जना उच्चस्तरका पाहुनाहरुको सहभागीता रहेको थियो ।
नेपालबाट रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका, काठमाडौंको टोखा नगरपालिका र काभ्रेपलान्चोकको बनेपा नगरपालिका सहभागीता थियो। सम्मेलनमा पर्यटन प्रवद्र्धन र विकासको लागि अन्तर्राष्ट्रिय स्तरको सहकार्य जरुरी रहेको बताइएको थियो।
कार्यक्रममा हामीलाई नेपाल गौतम बुद्धको जन्मस्थल र सगरमाथाको देश नेपाल हो भनेर चिनाउने अवसर मिल्यो। लुम्बिनीको प्रचार प्रसार गर्ने अवसर समेत प्राप्त भयो। बुद्ध जन्मस्थलबाट आएको भन्दा हामीलाई चिनिया नागरिकहरुले व्यक्त गरेको सदभाव र सम्मान सम्झनलायक र उल्लेखनिय छ। कार्यक्रम आयोजना भएको कुनमिङ शहर सुन्दर फुलै फुलले सजिएको थियो। यो एक सुन्दर ठाउँ हो, जुन वर्षभरि फुल्ने फूलहरू र विविध वनस्पतिहरूको लागि प्रसिद्ध छ।हामीले कुनमिङको प्राचिन शहर, प्रदर्शनी केन्द्र, संग्रालयहरु, दिनाक्षि लेक समेत अवलोकन गर्यौं। ऐतिहासिक, पुरातात्वीक, सुन्दर, फूलै फूलले सजिएको सफा सुन्दर कुनमिङ शहर घुमिराखौं लाग्ने खालको रहेछ।
कुनमिङ बसाइका क्रममा हामीले चिनिया नागरिकहरु सहयोगी, अतिनै मिलनसार, जिम्मेवार, कर्तव्यनिष्ट, काममा सानो ठूलो नभन्ने स्वाभावका पायौं। नेपाल र लुम्बिनीको बारेमा चिनियासँगै सम्मेलनमा सहभागी अरु विभिन्न देशका पदाधिकारीहरुले चासो व्यक्त गरेका थिए। सम्भव भएसम्म बुद्धजन्मस्थल भ्रमण गर्ने र लुम्बिनीसँग सम्बन्ध विस्तार गर्ने उनीहरुको प्रतिबद्धता थियो।
छिमेकी मुलुक भएकाले पनि चिन र नेपालबीच लामो समयदेखी गहिरो सम्बन्ध छ। यो अनुकरणीय सम्बन्धले दुई देशको मित्रतालाई अझ उचाइ र फराकिलो बनाएको छ। दुबै देश र नागरिकको उज्वल भविश्व निर्माण गर्न विश्व शान्ती र विकासमा सकारात्मक योगदान पुर्र्याएको छ भन्ने मलाई लागेको छ।
लुम्बिनी र बुद्धिष्ट सर्किटको बारेमा चिनिया नागरिकसमक्ष व्यापक प्रचार प्रसार गर्नुपर्छ। साथै लुम्बिनीसँग चिनका विभिन्न शहरहरुमा संस्थागत सम्बन्ध कायम गर्न जरुरी छ। बुद्धको मार्गदर्शन शान्तिको सन्देश सँग सम्बन्धीत विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरु लुम्बिनीमा आयोजना हुनुपर्छ। अन्तर्राष्ट्रिय मेयरहरुको सम्मेलन लुम्बिनीमा गर्न सकियो भने बुद्ध जन्मस्थलको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ भन्ने मलाई लागेको छ।
कुनमिङ भ्रमण गर्न र अन्तराष्ट्रीय स्तरको कार्यक्रममा भाग लिन पाउदा जिवनको महत्वपुर्ण उपलब्धि ठानेको छु। यसप्रकारका महत्वपुर्ण कार्यक्रमले अन्तराष्ट्रीय सम्बन्धको महत्व, फरक देशका शहर शहर बिचको सम्बन्ध, पर्यटन प्रवर्द्धन र विकासको लागी कति महत्व रहेछ भन्ने कुराको जानकारी भयो। सम्मेलन सम्पन्न भएपछि २१ नोभेम्बरमा हामी नेपाल फर्कियौं ।