२०८२ फाल्गुन २३ गते, शनिबार ११:२०
  • सिष्टम अपग्रेडपछि बुटवलको सिद्धार्थ केवलकार पुनः सञ्चालन

    बुटवल -थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेड गरेपछि बुटवलको सिद्धार्थ केबलकार पुनः सञ्चालनमा आएको छ । बुटवल र पाल्पाको नुवाकोटगढी जोड्ने गरि सिद्धार्थ केबलकार सञ्चालित छ। केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि केबलकार बन्द गरिएको थियो। एक महिनापछि नियमित सञ्चालन सुरु भएको सिद्धार्थ केबलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए।

    बन्द भएको अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ। त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिए।

    बटम स्टेशन देखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा २५ वटा गोण्डुला रहेका छन्। एउटा गोण्डुलामा ८ जना सवार गर्न सकिन्छ। केबलकारको बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अंगाडी चेन हलेज सिष्टम थियो । त्यसलाई अहिले टायर हलेज सिष्टममा बदलिएको छ। प्रवन्धक कार्कीका अनुसार यसले केवलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै पोलहरुमा खडखडाउने आवाज पनि बन्द भएको उनले जानकारी दिए।

    त्यस्तै पहुँचमागमा दुबैतर्फ विद्युतीयकरण गरिएको छ। केही दिनमा लाईटिङ पनि जडान गरिने र त्यसले केवकारको यात्रालाई झनै आकर्षक बनाउने छ। सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङको काम पनि भईरहेको छ। त्यसबाहेक अरु धेरै पूर्वाधार निर्माणको काम बाँकी नै रहेको प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी दिए। सिद्धार्थ केवलकार लिमिटेडको योजना अनुसारका पूर्वाधार निर्माण भईसक्दा यस क्षेत्रको पर्यटकन विकासले एउटा उचाई लिने उनको भनाइ छ।

    सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा रहेको छ। सेनबंसीय  परापूर्वकालदेखि नै पुरातात्विक तथा सामरिक महत्व बोकेको नुवाकोट गढी राष्ट्रिय गौरव बोकेको सम्पदा हो। नेपाल अंग्रेज यूद्धसंग जोडिएकाले यसले धेरै महत्व बोकेको छ। केवलकारको बटम स्टेशन समुद्रि सतहबाट ३ सय मिटर र टप स्टेशन समुद्रि सतहबाट ८ सय मिटरको उचाईमा रहेको छ। यहाँ शान्त, सितल, हरियाली र मनमोहक दृश्यले पर्यटकलाई बोलाईरहेका त्यसको मध्येस्थकर्ताको रुपमा सिद्धार्थ केवलकार खडा भएको प्रवन्ध सञ्चालक अधिकारीको भनाइ छ।