
काठमाडौं – नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्नल फ्रेन्च टुरिज्म मार्ट – आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५ औं वर्ष पुगेको उल्लेख गर्दै बोर्डले नेपाल(फ्रान्स सम्बन्धको ऐतिहासिक महत्वबारे पनि चर्चा गरेको हो।
हर्जोगको ऐतिहासिक आरोहणले फ्रान्सेली यात्रु र आरोहीलाई दशकौंदेखि नेपाल भ्रमणका लागि प्रेरित गरिरहेको तथ्य पनि बोर्डले स्मरण गराएको छ। फ्रान्सेली पर्यटक नेपालका निष्ठावान आगन्तुकका रूपमा चिनिन्छन्। उनीहरूको रोजाइमा एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ क्षेत्रका पदमार्गहरू तथा काठमाडौं उपत्यकाका सांस्कृतिक स्थलहरू विशेष प्राथमिकतामा परेका छन्। दिगो र अनुभवमा आधारित पर्यटनप्रतिको माग बढेसँगै नेपाल फ्रान्सेली पर्यटकहरुका लागि अझ आत्मीष गन्तव्य बनेको छ।
मार्टमा बोर्डले स्थापना गरेको नेपाल पभेलियनमा युरोपेली पर्यटन व्यवसायीहरूले नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे चासो राखेका थिए। मार्टमा सहभागी बोर्डका वरिष्ठ अधिकृत सागर श्रेष्ठ र राजीव झाको नेतृत्वमा बोर्डको टोलीले नेपालको साहसिक, सांस्कृतिक र प्रकृतिमा आधारित पर्यटनबारे जानकारी गराएका थिए। बोर्डसँगै नेपालबाट जर्नी डीएमसी, नमस्ते होलिडेज टुर्स एण्ड ट्रेक्स, फ्रेन्ड्स एड्भेन्चर टिम, एथिकल ट्रेकिङ नेपाल, द ट्रेक नेपाल र हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन गरी छवटा नेपाली ट्राभल कम्पनीहरु सहभागी भएका थिए।
बोर्डले यस सहभागितामार्फत फ्रान्सेली तथा युरोपेली पर्यटन व्यवसायीहरूसँग साझेदारी गहिरो बनाउन, नेपालप्रतिको आकर्षणलाई सुदृढ पार्न र भविष्यमा थप पर्यटक भित्र्याउन लक्ष्य लिएको जनाएको छ। आईएफटीएम टप रेजा फ्रान्सको सबैभन्दा ठूलो बीटुबी पर्यटन प्रदर्शनी हो, जसले विश्वका पर्यटन बोर्ड, ट्राभल एजेन्सी र टुर अपरेटरलाई एउटै प्लेटफर्ममा ल्याउँछ। यस प्रदर्शनीमार्फत युरोपेली बजारमा नेपाल प्रामाणिक, साहसिक र दिगो पर्यटन अनुभवका लागि पूर्ण रूपमा तयार रहेको बोर्डले सन्देश दिएको छ।

