
काठमाडौं -विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ। नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ।
नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यवसायिक कम्पनीहरू(टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि) संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन्। नेपालले यस मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन’को रूपमा पुनःस्थापित गर्न लक्ष्य राखेको छ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरि प्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको नेतृत्व नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन्। अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो। डब्ल्यूटीएम लण्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ र विश्व बजारमा नेपालको उपस्थितिलाई मजबुत पार्नेछ ।”
अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै थपे, ‘नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू, र समुदाय(आधारित संरक्षण कार्यक्रमहरूद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्छ ।’
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जोशीले भने नेपाललाई जीवनभर सम्झनलायक गन्तव्यको रुपमा पुनर्स्थापित गर्ने बताएका छन् । “हामी नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसनू का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित छौं । डब्ल्यूटीएम लण्डनमा हाम्रो सहभागिताले आगन्तुक आगमन वृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढिकरणमा निर्णायक भूमिका खेल्नेछ ।” उनले भने, “डब्ल्यूटीएम लण्डन २०२५ मा हामी विश्वका यात्रुहरूलाई नेपाल पुनः खोज्न निम्तो दिन्छौं”
सीईओ जोशीले थपे, ”यहाँ विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिन्छन् । हाम्रो पुनरुत्थान सशक्त छ, संरक्षणप्रतिको प्रतिबद्धता अटल छ, र नेपाल यात्रुहरूका लागि पुनः खुला भइसकेको छ ।”
डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर एन-१२-५११०) “जहाँ प्रकृति, संस्कृती र संरक्षणमो मिलन हुन्छू भन्ने नारा दिएर पविलियनमा नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवं आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू, र सामुदायिक पर्यटनका पहलहरूका दृश्यात्मक र अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू भइरहेका छन्।
यहाँ आगन्तुकहरूले नेपालका हिमाली गन्तव्यहरू, ग्रामीण पर्यटन मोडेल, वेलनेस र ध्यान यात्रा, तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता सम्बन्धी सफलताका कथाहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । बीटुबी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्यको अवसर पनि यहाँ उपलब्ध हुने बोर्डले जनाएको छ।

