२०८३ कार्तिक १० गते, सोमबार १५:०३
  • नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ सुरु, बेलहियामा भारतीय टोलीको स्वागत

    नेपालको पर्यटन प्रवर्द्वन, सीमापार व्यावसायिक साझेदारी र नेपाल-भारत सम्बन्ध सुदृढ बनाउने लक्ष्य

    भैरहवा- ‘नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ सुरु भएको छ। भारतका विभिन्न सहरबाट सहभागी हुन आएका पर्यटन तथा ट्राभल व्यवसायीहरूको टोलीलाई आइतबार साँझ स्वागत गरि कार्यक्रमको सुरुवात गरिएको हो।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन, पर्यटन विकास परिषद लुम्बिनी प्रदेशकी कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह लगायतले क्रस बोर्डर टुरिजम कनेक्टको उद्घाटन गरे। नेपालमा भारतीय पर्यटकको आगमन वृद्धि गर्ने, भारतीय बजारमा नेपाली पर्यटनको प्रवद्र्धन गर्ने तथा नेपाल र भारतका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

    उद्घाटन समारोहमा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तार गर्न तथा पर्यटन क्षेत्रका व्यवसायीलाई एउटै मञ्चमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    आयोजक तथा गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका प्रवक्ता सोमनाथ सापकोटाले कार्यक्रमको पृष्ठभूमि, उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारे। उनले नेपाल र भारतबीच रहेको भौगोलिक निकटता, सांस्कृतिक समानता, धार्मिक आस्था र ऐतिहासिक सम्बन्धलाई पर्यटन तथा व्यावसायिक सहकार्यसँग जोड्न सके दुवै देशले आर्थिक र सामाजिक लाभ लिन सक्ने बताए। ‘यस कार्यक्रमको प्रमुख उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रवद्र्धन गर्नु, नेपाली पर्यटन व्यवसायीलाई भारतीय ट्राभल नेटवर्कसँग जोड्नु र दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माण गर्नु हो।’ सापकोटाले भने ‘यस कार्यक्रमबाट पर्यटकको बसाइ अवधि बढाउन, होटल तथा रिसोर्ट व्यवसायको बजार विस्तार गर्न, स्थानीय रोजगारी सिर्जना गर्न र पर्यटनमा लगानीका अवसर बढाउन सहयोग पुग्ने अपेक्षा राखेका छौं।’ चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति तथा सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा र पोखराको प्राकृतिक सौन्दर्य तथा साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना रहेको सापकोटाको भनाइ छ।

    कार्यक्रममा भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएनका अध्यक्ष राजेश सिन्हाले नेपाली आयोजक तथा पर्यटन व्यवसायीले गरेको आत्मीय स्वागतप्रति आभार व्यक्त गरे। उनले नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ नेपालको पर्यटन प्रवद्र्धन र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउन कोसेढुङ्गा साबित हुने उल्लेख गरे। सिन्हाले नेपालका पर्यटन गन्तव्य, होटल, रिसोर्ट तथा ट्राभल कम्पनीलाई भारतीय बजारसँग प्रत्यक्ष जोड्ने यस्ता कार्यक्रमले नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने र दुई देशबीच पर्यटक आवागमन बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

    पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशकी कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले नेपाल र भारतका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याएर सहकार्यको वातावरण निर्माण गरेकोमा आयोजक तथा सहभागी संस्थाहरूप्रति धन्यवाद व्यक्त गरिन्। उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यलाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क, संयुक्त प्रचारप्रसार र व्यावसायिक साझेदारीले प्रदेशको पर्यटन विकासमा योगदान पु¥याउने बस्यालको भनाइ थियो।

    गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले भारतीय प्रतिनिधिमण्डल, नेपाली पर्यटन व्यवसायी, आयोजक संस्था, आतिथ्य क्षेत्रका साझेदार, सहयोगी संस्थाहरू तथा सञ्चारकर्मीलाई सहभागिता र सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।
    सो अवसरमा आयोजकले आमन्त्रित अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए। त्यसैगरी कार्यक्रमको समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई सहभागितापत्र वितरण गरिएको थियो।

    कार्यक्रममा गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष प्रबिन गुरुङ, कार्यक्रम संयोजक तथा इला होटल एण्ड रिसोर्ट, आइएमइ हस्पीटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापा, होटल एशोसिएन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठ, होटल व्यवसायी महासंघ नेपालका महासचिव राजेश महोत्रा, समृद्ध चितवन अभियानका संयोजक तारानाथ पौडेल, ग्रेस इन्टरनेसनलका प्रतिनिधि गणेश लामिछाने, ग्रीन लुम्बिनी, चन्द्रौताका सेल्स अफिसर नवीन भट्ट, पर्यटन तथा वातावरणविद् पी. के. शेर्पा, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य सुरेश बराल लगायतको सहभागिता थियो।

    बेलहियामा स्वागत र उद्घाटन कार्यक्रम सम्पन्न भएपछि भारतीय प्रतिनिधिमण्डल रामग्राम नगरपालिकातर्फ प्रस्थान गरेको छ। त्यहाँ नगरप्रमुख तथा नगरपालिकाका प्रतिनिधिहरूले टोलीलाई स्वागत सहित कार्यक्रम आयोजना गर्ने छन्। प्रतिनिधिमण्डलले भगवान् गौतम बुद्धका पवित्र अवशेषसँग सम्बन्धित ऐतिहासिक बौद्ध सम्पदा रामग्राम स्तूपको अवलोकन गर्नेछ। त्यसपछि टोली नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्ट पुग्नेछ, जहाँ स्थानीय संस्कृति, सामुदायिक पर्यटन, आतिथ्य सेवा तथा पर्यटन व्यवसायीबीच व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।

    कार्यक्रमअन्तर्गत नवलपुर र चितवनका विभिन्न होटल, रिसोर्ट तथा पर्यटन गन्तव्यहरूको अवलोकन र नेपाल तथा भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक अन्तरक्रिया पनि सञ्चालन गरिनेछ। आयोजकका अनुसार नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ ले सीमापार पर्यटनलाई भ्रमणमा मात्र सीमित नराखी व्यावसायिक साझेदारी, सांस्कृतिक आदानप्रदान, लगानी, रोजगारी सिर्जना र साझा आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ।