२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • रेसुंगा विमानस्थलमा यात्रुको चाप, सिट क्षमताको चार गुना बढि टिकटको माग

    अब हप्तामा दुई दिन उडान हुने

    तम्घास– गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट हवाइ सेवा सुरु भएपछि यात्रुको चाप बढेको छ। नेपाल एयरलाइन्सको १८ सिटे जहाजले हप्तामा एक दिन काठमाडौँ -गुल्मी- काठमाडौँ उडान गरिरहेको छ। तर सिट क्षमताको चार गुनासम्म टिकटको माग भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सका स्टेसन प्रमुख सुमन थापाले बताए। ‘अहिले सेड्युल अनुसार हप्तामा एउटा मात्र फ्लाइट छ, चारैतिरबाट फोन आइरहेको हुन्छ, टिकट ल्याउनुस् भनेर।’ उनले भने ‘हामीले माग बमोजिम टिकट पुर्याउन सकेका छैनौं अहिलेको प्यासेन्जरको फ्लो अनुसार हप्तामा चार वटा पनि उडान हुन सक्ने देखिएको छ।’

    यात्रुका चाप बढ्न थालेपछि उडान थपेर हप्तामा दुई दिन पुर्याइने भएको छ। अहिलेसम्म रेसुंगा विमानस्थलबाट शुक्रबार मात्र उडान हुँदै आएकोमा अब बुधबार पनि उडान गर्ने निर्णय भएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए। ‘यात्रुको एकदम चाँप भएर साताको २ दिन उडान गर्ने भनिएको हो । आज उडान हुने भनिएको थियो मौसमले गर्दा डिस्ष्टर्व भयो। जहाज आउन सकेन।’ उनले भने ।

    काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । गत बैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु गरेको थियो।