२०८१ आश्विन २१ गते, सोमबार १७:०२
  • अन्नपूर्ण गाउँपालिकाले पर्यटनबाट कमायो एक करोड ३० लाख

    बेनी -म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

    गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

    यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ ।

    प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।