
भैरहवा -राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधानय समितिले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारुको लागि पहल गर्न सम्बन्धीत सबै मन्त्रालयसँग छलफल गर्ने भएको छ। समितिका सांसदले शुक्रबार गौतम बुद्ध विमानस्थलको आवलोकन, निरिक्षणका गरेका थिए।
अवलोकन पछि आयोजित छलफलमा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि १० वटा सुझाब सहितका विषय प्रस्तुत गरेका थिए। अन्तर्राष्ट्रिय उडानको लागि पर्यटनसँगै, अर्थ, स्वास्थ्य, श्रम, उद्योग र परराष्ट्र मन्त्रालयले पनि गर्नुपर्ने विषयका बारेमा तिवारीले समितिलाई जानकारी गराएका थिए।
विधायन समितिका सभापति मायाप्रसाद शर्माले महाप्रबन्धकबाट आएको सुझाब र छलफलको निश्कर्षको अध्ययन गरि सरकारलाई सुझाब दिने बताए। हामीले सरकारलाई पनि सुझाब दिन्छौं। ‘यहाँको समस्या ६ वटा मन्त्रालयसँग सम्बन्धीत रहेछ।’ बुद्ध परिपथसँग उनले भने ‘ति मन्त्रालयसँग पनि कुरा गर्छौं । सदनमा पनि हामीले कुरा उठाउँछौं।’ शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन भएमा पश्चिम भेगका नागरिकको लागि निकै सुविधा हुने उल्लेख गरे।
समितिका सांसदसँगको छलफलमा महाप्रबन्धक प्रतापबाबु तिवारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण रुपमा सञ्चालनको लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले अगुवाइ गर्नुपर्ने बताएका थिए। त्यसका लागि भारत, चिन, खाडी मुलुक र बुद्धिस्ट मुलुकका विमानस्थलमा समेत क्रमश नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार प्रसार हुने उनको भनाइ छ।
त्यसै गरि यस्तै यात्रु सेवा दस्तुर र ग्राउण्ड हन्डलिङ दस्तुर घटाउनुपर्ने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्नुपर्ने, भैरहवाको विमानस्थललाई ट्रान्जिट कार्गोको रुपमा विकास गर्ने, बैदेशिक रोजगारीमा जाने यात्रुले मेडिकल टेष्टको लागि काठमाडौँ जान नपर्ने गरि व्यवस्था गर्ने, भैरहवामा म्यानपावर अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले गर्नुपर्ने, खाडी मुलुका बायुसेवाले काठमाडौँबाट गर्ने उडानको २० प्रतिसत भैरहवाबाट गर्नुपर्ने बारेमा महाप्रबन्धक तिवारीले सुझाब राखेका थिए।

