
विमलराज भट्टराई
रोटरी क्लब अफ बुटवल डाउनटाउनमा आबद्ध हामी हरेक नयाँ वर्षको अवसरमा विभिन्न ठाउँ घुम्ने गर्दछौ। क्लबको १० औं बोर्ड बैठक समेत बस्ने गरि ३ दर्जन साथीहरु सहित हामी बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पातर्फ लाग्यौं। सिद्धबाबाको दर्शन गरि जोरधारा पुग्यौ।
जोरधारामा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको रेष्टुरेण्ट छ। प्रेमजीकोमा हामीले बटुक, पकौडा र चुकाउनी खाएर हामी अघि बढ्यौं। हिमचुली यातायातको मिनी बसमा हामी तानसेनको बर्तुङ हुँदै आर्यभञ्ज्याङ पुग्यौं। आर्यभञ्ज्याङमा केही सामान किन्यौं र सिद्धार्थ राजमार्गलाई छाडेर काफल खाँदै हामी अर्को बाटो मोडियौं। हुमिन हुँदै देबीनगर पुगियो। देविनगरबाट ११ किलोमिटरको यात्रा पछि साँझ ५ बजे रम्भादेवी गाउँपालिका ४ जाल्पा पुग्यौं।
जहाँ ढोलीमारा सामुदायिक होम स्टे थियो। होम स्टेमा ६० जनासम्मलाई खाना र आवास प्रवन्ध रहेको होमस्टे दुई वर्षदेखी सञ्चालन भएको रहेछ। होम स्टे पुग्न भन्दा एक किलोमिटर वरै हामीलाई भब्य स्वागत गरिएको थियो। होमस्टेकै पञ्चेवाजा र झ्याउरे लोक भाका टोलीले नाचगान सहित टिका माला लगाई हामीलाई स्वागत गर्नुभयो। होम स्टेमा आबद्धहरु हासी हासी काममा खटिनुभएको थियो। समुदाय भवन पुगेपछी हामी भ्रमण टोलीलाई संगीत सहित नास्ता र भोजन गराइयो। मौलीक स्थानिय परिकार र पेय पर्दार्थ सहित यहाँ अतिथी सत्कार गरिदोरहेछ।
होम स्टेको स्वागत कार्यक्रममा रोटरी बुटवल डाउनटाउनका पूर्वअध्यक्ष टंक पराजुली, नरबहादुर श्रीष, म विमलराज भट्टराई, राजेन्द्र ढकाल, अध्यक्ष कमला हमाल, पर्यटन व्यवसायी टेकु पौडेल होमस्टे सचिव मनबहादुर सारू लगायतले आ आफ्ना भनाइ राखेका थियौं। कार्यक्रम र खानपिनपछि राती समुदायमा वाडीएर सुत्यौ।
भोलीपल्ट विहान उठेर नित्यकर्म सकेर फेरि हामी समुदाय भवनमा जुट्यौ। कोदोका परिकार, अचार र चिया नास्ता गरि होम स्टेबाट विदा भयौ। वाटोमा काफल भेटियो सात सय रुपैयामा एक पाथी काफल किनेर सबैले वाडेर खायौं। आर्यभञ्ज्याङब हुँदै ११ बजे तिर पाल्पा पोखराथोक गाप्टुंग आइपुग्यौं।

त्यहाँ बुटवलका व्यवसायी विकास भट्टराईले पिस प्वाइन्ट होटल सञ्चालन गरेका रहेछन्। पिस प्वाइन्टमा रोटरी क्लब अफ बुटवल डाउनटाउनको १० औं बोर्ड बैठक बस्यो। बैठकपछि खाना खाएर दुईबजे त्यहाँबाट हिड्यौं।
तिनटी आंप डिल्ली बस्यालजी कहाँ गयौं। त्यहाँ पुदीना, मोही र काँक्रो खाई बिदा भयौं। बसमा भ्रमण संयोजक कमल नेपालले गित सुनाउँदै माहोल रमाइलो बनाउनुभएको थियो। केराबारीमा आएपछि एकछिन गाडी रोकेर चिया वटुक खाएर बुटवल झर्यौं। यस पटक पाल्पा जाल्पाको होम स्टेको बसाइ निकै रमाइलो भयो। त्यहाँको ढोलीमारा सामुदायिक होम स्टेमा प्रति व्यक्ति १५०० मा खाना, वस्न र बिहानको नास्ताको सुविधा रहेछ। बुटवल देखी करिब सत्तरी किलोमिटरको दुरीमा पर्ने जल्पाको बसाइ हामी सबैका लागी अविस्मरणीय रहयो।

