
भैरहवा–भैरहवामा ‘टूर प्याकेज डेभलपमेन्ट तालिम’ सुरु भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजना, नेपाल पर्यटन बोर्ड र युनडीपीको आर्थिक सहयोगमा बुधाबार तालिम सुरु भएको तालिम २८ गतेसम्म सञ्चालन हुने छ।
तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले पर्यटन क्षेत्रको विकास गर्दा रोजगारी सिर्जना हुने र मुलुक समृद्धिको बाटोमा अघि बढ्न सघाउ पुग्ने धारणा राखे। उतले रुपन्देही मात्रै नभई मुलुकमा नै पर्यटनको उच्च सम्भावना रहेकाले यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रमा थुप्रै लगानीकर्ताहरुको लगानी रहेकाले रुपन्देहीमा अवसर नै अवसर र सम्भावना रहेको खानले उल्लेख गरे।
नाट्टा केन्द्रीय सदस्य विजय रिजालले लुम्बिनीबाट दक्ष जनशक्ति निर्माण गरी पर्यटकीय प्याकेजको विकास गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले यस क्षेत्रमा पहिलोपटक टूर प्याकेज केन्द्रित कार्यक्रम गरिएको जनाउँदै यसबाट पर्यटन क्षेत्रमा सघाउ पुग्ने धारणा राखे।
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले टूर प्याकेज कसरी बनाउने, कस्ता विशेषताहरु समेट्ने लगायतका समग्र विषयमा तालिममा जानकारी प्रदान गरिने बताए। यस तालिमबाट क्षमता अभिबृद्धि भई लुम्बिनीको पर्यटनको लागि टूर प्याकेज बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
तालिममा नेपालको टुर प्राक्टिस, पर्यटन क्षेत्र, टुर प्याकेज बनाउने तरिका, विदेशी पर्यटकको आवश्यकता, सरकारी नीति, विदेशी नीति, गन्तव्यको पहिचान लगायतका विषयमा जानकारी दिइनेछ। प्रशिक्षार्थीहरुलाई पर्यटन विज्ञ विनय शाक्य र बरुण ज्ञवालीले प्रशिक्षण दिनेछन्। तालिममा रुपन्देही, कपिलबस्तु र पाल्पाका गरि ३० जना सहभागी छन्।

