२०८३ बैशाख १० गते, बिहीबार १८:२२
  • श्री एयरलाइन्सले पायो तीन गन्तव्यमा अन्तर्राष्ट्रिय उडानको अनुमती

    काठमाडौं -श्री एयरलाइन्सले तीनवटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति पाएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणले एयरलाइन्सको एयर अपरेटर सर्टिफिकेट संसोधन गरेर मुलुक बाहिर पनि उडान गर्ने बाटो खोलिदिएको हो।

    श्री ले अब काठमाडौंबाट भारतको दिल्ली र कोलकाता तथा बंगलादेशको ढाकामा नियमित उडान गर्न पाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। यस अघि आन्तरिक उडान र विदेशमा चार्टर उडान मात्रै गर्दै आएको यो कम्पनीले अब तालिका अनुसार यी गन्तव्यमा यात्रु ल्याउने र लैजाने गर्ने छ।

    प्राधिकरणले वैशाख ४ गते जारी गरेको निर्णयअनुसार यी उडानका लागि कम्पनीका चारवटा जहाजले अनुमति पाएका छन्।जसमा दुईवटा सिआरजे र दुईवटा डिएचसी–८ सिरिजका जहाज रहेका छन्। यी विमानहरू मार्फत एयरलाइन्सले अब काठमाडौं–दिल्ली–काठमाडौं, काठमाडौं–कोलकाता–काठमाडौं र काठमाडौं–ढाका–काठमाडौं रुटमा व्यावसायिक उडान भर्नेछ। यसअघि निजी क्षेत्रबाट बुद्ध एयरले मात्र नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको थियो। अब श्री एयरलाइन्स पनि थपिएपछि नेपालबाट विदेशमा नियमित उडान गर्ने नेपाली विमान कम्पनीको संख्या चार पुगेको छ।