२०८३ बैशाख १९ गते, शनिबार १६:३८
  • लुम्बिनी पिस मेडिटेसन म्याराथनको उपाधि कुलबहादुर बस्नेतलाई

    लुम्बिनी — लुम्बिनी पिस मेडिटेसन म्याराथनको उपाधि कुलबहादुर बस्नेतले जितेका छन्। २५७० औं बुद्ध जयन्तीको उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित
    २१ किमी दुरीको म्याराथन उनले १ घण्टा १४ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन् । त्यस्तै, प्रकाशसिंह ऐरले १ घण्टा १७ मिनेट ५० सेकेन्डमा उक्त दुरी पार गरेर दोस्रो भए। सुनिल थापा मगरले १ घण्टा ३२ मिनेट ३० सेकेन्डमा सो दुरी पार गरेर तेस्रो भए।

    प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः २१ हजार, १४ हजार र ७ हजार नगद तथा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। विजेताहरुलाई लुम्बिनी विकास कोषका सद्भावनादूत तथा नेपालका लागि ग्रिसका अवैतनिक राजदूत विक्रम पाँडेकाजीले पुरस्कार प्रदान गरेका थिए।

    ७ किमी लामो क्याटोगरीको म्याराथनको उपाधि सन्तोषनाथ योगीले जितेका छन्। उनले२३ मिनेट ३८ सकेन्डमा उक्त दुरी पार गरेका हुन्। त्यस्तै, शिवशंकर थारुले २७ मिनेट ४३ सकेन्डमा दुरी पूरा गरेर द्वितीय भएका छन् । तेस्रो भएका बलबहादुर राईले २९ मिनेट १९ सकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए। प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः १४ हजार, ७ हजार र ५ हजार नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। गीतकार श्रीपुरुष ढकालले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा न्यूजिल्याण्डका एक विदेशी नागरिकसहित २५ जना सहभागी थिए। लुम्बिनीस्थित विश्व शान्ति स्तुपबाट सुरु भएका प्रतियोगिता मायादेवी मन्दिरलाई फन्को मार्दै अखण्ड शान्ति द्विपस्थित बेबी बुद्धमा समापन भएको थियो।