
तानसेन – यतीबेला पाल्पाको तानसेनका होटलहरु भरिभराउ छन्। विहीवार बकरइद, शुक्रबार गणतन्त्र दिवसको सार्वजनिक विदा थियो। त्यसैले बुधबार बेलुकादेखि नै पाल्पाका होटलहरुमा चहलपहल बढ्न थालेको हो।
शुक्रबार बेलुका तानसेका सबै होटलहरु भरिभराउ भएको छ। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका महासचिव जयराम सापकोटाले २५ जनाको ग्रुपलाई तानसेनमा राख्न नसकेको फेसबुकमा लेखेका छन्। ‘पर्यटकले तोडे तानसेनको नयाँ रेकर्ड ! आज २५ जनाको ग्रुप राख्ने क्षमता तानसेनमै रहेन, बसपार्कदेखि बतासेडाँडा सम्मका सबै होटल प्याक’ सापकोटाले फेसबुकमा पोष्ट गरेका छन्।
बुद्धपरिपथसँग कुरा गर्दै महासचिव सापकोटाले तानसेनमा कोठा नभएकाले अग्रुपलाई रिडी पठाएको बताए। सार्वजनिक विदा भएकाले कर्मचारीहरुहरु केही ग्रुपमा तथा पारिवारिक रुपमा घुम्न आएको उनको भनाइ छ।
तानसेनमा रहेको होटल पौवाले पनि ठूलो संख्यामा पाहुना फर्काएको छ। पौवाको पाल्पा शाखा प्रमुख यदु भट्टराइले धेरै पाहुना फर्काउन परेको र अरु होटलमा पनि राख्न नसकेको सुनाए। ‘यो दुई दिनमा धेरै पाहुना आए। बुधबारदेखी सबै कोठा बुक छ। हाम्रो होटलबाट मात्र ५० जना पाहुना फर्काउन पर्याे।’ उनले भने ‘उहाँहरुलाई तानसेनका अरु होटलमा पनि व्यवस्थापन गर्न सकिएन।’
रानीमहल नजिकको हेरिटेज फरेष्ट रिसोर्टका सञ्चालक राजिवकुमार शाहले आफूले पनि पाहुनाहरु फिर्ता गर्नुपरेको बताए। ‘अहिले पाल्पामा पर्यटकहरुको राम्रो चहलपहल छ। विदाका दिनमा यहाँ धेरै पाहुनाहरु आउँछन्।’ उनले भने ‘मैले मात्र हिजो चार वटा ग्र्रुप फिर्ता गरें।’ नाट्टा पाल्पाका अध्यक्ष समेत रहेका शाहले तानसेन र आसपासमा थप पर्यटकीय पूर्वाधार र व्यवस्थापनको आवश्यकता रहेको औल्याए।
तानसेनको बतासेडाँडामा रहेको ३ तारे श्रीनगर होटल रहेको छ। श्रीनगरका सञ्चालक जयन्त भुसालले बुधबारदेखि नै होटल प्याक हुन थालेको सुनाए। ‘शुक्रबार र शनिवार होटलहरु प्याक हुन्थ्यो। यसपटक बुधबारदेखी नै चहलपहल बढ्यो।’ उनले भने ‘हाम्रोमा ४० वटा कोठा छ । विहिवार चार पाँच वटा कोठाका पाहुना अरु होटलमा व्यवस्थापन गर्नुपरेको थियो।’ श्रीनगर होटलमा ८० प्रतिसत जति भारतीय र बाँकी २० प्रतिसत आन्तरिक पर्यटक आउने गरेका छन्। तर यसपटक भारतीय पर्यटक आगमनमा कमी आएको भुसालको भनाइ छ।
तराइमा अध्याधिक गर्मी भएकाले विदाका दिन मानिसहरु बस्न पहाडी जिल्ला तिर आउने प्रचलन बढेको छ। गर्मी छल्न बुटवल, भैरहवा सहित तराइका ठाउँबाट मानिसहरु पुग्ने गरेका छन्। पाल्पामा भारतीय पर्यटक पनि अध्याधिक आउने गरेका छन्।

