२०८३ मंसिर ४ गते, बिहीबार ००:२४
  • आनी छोइङले गरिन् कोषको उपाध्यक्षको पदभार ग्रहण

    ‘लुम्बिनीको विकास र स्थानियबासीको सेवामा म हाजिर भएको छु’

    लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्मा पदभार ग्रहण गरेकी छन्। नियुक्त भएको एक महिनापछि बुधबार बुद्ध जन्मस्थल लुम्बिनी आइ उनले पद सम्हालेकी हुन्। आनीको नियुक्तीको विरुद्ध केही स्थानियले आन्दोलन गर्दै आएका थिए। आन्दोलन र विरोधका कारण पदभार ग्रहणमा ढिलाइ भएको थियो।

    लुम्बिनीको शान्तिदीप क्षेत्रमा आनीलाई स्वागत गरिएको थियो। त्यसलगत्तै मायादेवी मन्दिरमा पुगि उनले पुजाआजा गरेकी थिइन्। त्यसपछि कोषको कार्यालयमा गएर पदभार सम्हालेकी थिइन्। लुम्बिनीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उपाध्यक्ष आनीले क्षमताले भ्याए अनुसार आफूले लुम्बिनीको लागि काम गर्ने बताइन्। ‘लुम्बिनीको विकास र वरपरका सबै बासीन्दाको निम्ति सेवामा म हाजिर भएको छु। म आफ्नो क्षमता, श्रोत र बुद्धिले भ्याए अनुसार सँधै सेवा गर्ने छु।’ उनले भनिन ‘मसँग असाध्यै राम्रो टिम हुनुहुन्छ। सहसचिव जोस र जाँगरले भरिएको हुनुहुन्छ। कोषाध्यक्ष अनुभवी हुनुहुन्छ। हृदयदेखी नै सेवामा समर्पित छु। ’


    बुधबार नै लुम्बिनी विकास कोषका कोषाध्यक्ष रमेश शेखर बज्रचार्य र सदस्य सचिव सन्तोष पाण्डेले पनि पदभार ग्रहण गरेका छन्। सरकारले मंगलबार मात्र पूर्व एआइजी बज्रचार्यलाई कोषाध्यक्ष नियुक्त गरेको थियो। पाण्डे २ साता अघि सदस्य सचिवमा नियुक्त भएका थिए।

    पदभार ग्रहण गर्दै सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीमा अनियमितता हुन नदिने र सुसासन कायम गर्ने बताए। ‘दान भेटीका कुराहरुमा पनि पारदर्शीता अपनाउँछौं । सरसफाइमा ध्यान दिन्छौं।’ उनले भने ‘स्थानियको मुद्दाहरु पहिचान गरेर स्थानिय सरकारसँग छलफल गरेर समस्या समाधान गर्छौ।’ पदाधिकारीसँगै सरकारले लुम्बिनी विकास परिषद सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो।