
बुटवल- बुटवल १५ मा रहेको वेष्ट्रन मेघा कलेजमा एक दिने महिनाबारी स्वास्थ्य, सरसफाइ र जागरुकता विषयक अन्तरक्रिया भएको छ। कलेजमा अध्ययनरत बीएचएमका विद्यार्थी, कलेज तथा आरम्भ रिसोथर्टका कर्मचारीहरु अन्तरक्रियामा सहभागी थिए।
लुम्बिनी प्रादेशिक अस्पतालको वरिष्ठ नर्सिङ्ग निरिक्षक माधुरी ज्ञवालीले सहजीकरण गर्दै महिलाहरुमा गम्भिर रुपमा देखिने स्त्रिीरोग तथा महिनावारीको बेला हुने विभिन्न समस्याहरुको पहिचान, उपचार बिधि, सरसफाइ तथा निराकरणको बारेमा जानकारी गराएकी थिइन्। विद्यार्थीहरुले उक्त कार्यक्रमा विभिन्न प्रकारका समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए। महिनावारी प्राकृतिक नियम भएपनि महिला तथा किशोरीहरुले मानसिक एवं शारिरिक पिडा खेप्न बाध्य भएको उनीहरुको भनाइ थियो।
यस्ता समस्याहरुको बारेमा उचित ज्ञान तथा यस बाट उत्पन्न हुने थप समस्याहरुको रोकथाम गर्नका लागी कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए।
कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र बि.एच.एम मा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रम संयोजक एलिजा बज्राचार्य बताइन्।
कार्यक्रम बि.एच.एम अध्ययनरत छात्रा समिता जि. सिले सञ्चालन गरेकी थिइन। साथै कलेजमा स्नातक तहमा ४ बर्षे बीआइटी तथा बीएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमबीए अध्ययन हुने र वर्ष २०८३ को भर्ना खुलेको जानकारी गराइएको थियो।

