
सैनामैना– रुपन्देहीको सैनामैना नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि सूचना केन्द्र स्थापना र पोर्टल सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३ ८४ को नीति कार्यक्रममा पर्यटन सूचना केन्द्र स्थापना गर्ने उल्लेख छ। त्यस्तै पर्यटन पोर्टल सञ्चालन गर्ने जनाइएको छ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सैनामैनाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले नगरमा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै टुर गाइड उत्पादन र परम्परागत मेला महोत्सवको संरक्षण गरिने जानकारी दिए। नगर भित्र रहेको ऐतिहासिक सैनामैना क्षेत्र, पर्रोहा परमेश्वर बोलबमधाम, मलमला क्षेत्र, शैलिपुत्री, बोलबमपार्क, फूलबारी पार्क, महेरहवादेबी, भैरबस्थान, पानबारी क्षेत्र, राजापानी, कोटियामाई क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने बताए। नगरप्रमुख शर्माले यी ठाउँमा पर्यटन पूर्वाधारका कार्यलाई निरन्तरता दिइ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ।
यस्तै सैनामैनामा थारु समुदायको ऐतिहासिक पहिचान र संस्कृतिको संरक्षण गर्न उज्यालो थारु नमुना गारु गाउँ अभियानलाई यसै बर्ष सम्पन्न गर्ने उल्लेख छ। ती बस्तीका घरका भित्ता तथा पर्खालमा थारु सांस्कृतिक चित्रकला निर्माण गर्नुका साथै होमस्टे सञ्चालनलाई प्राथमिकता दिइने नगरप्रमुख शर्माले बताए।
सैनामैना समृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वाधार भन्ने दिर्घकालिन सोंचलाई साकार पार्ने नगरपालिकाले लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा भूमि प्रशासन सम्बन्धी सम्पूर्ण कार्य नगरपालिकाबाट यथासिघ्र मिलाइने, भूमिहिन, सुकुम्बासी र अव्यवस्थीत बसोबासीको हालसम्म नापजाँच भएको जग्गाको जग्गा धनी प्रमाणपत्र वितरण गरिने, बाँकीको नापजाँच कार्यलाई अघि बढाउन सहजिकरण गर्ने भनिएको छ।
कृषि तर्फ दुध र मासुजन्य उत्पादनमा लागत कम गर्न हिउँदे बर्षे घाँसको विउ वितरण कार्यलाई निरन्तरता दिने, नगरभित्र रहेका उद्योग र व्यापारको प्रोफाइल तयार गरिने, बैदेशिक रोजगारबाट फर्किएका व्यक्तीहरुको ज्ञान सिप र पूजीलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्न पून एकिकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा बताइएको छ। यस्तै स्वास्थ्य तर्फ सैनामैना आधारभूत अस्पतालमा विशेषज्ञ सहितको सेवा सञ्चालन गरिने, सून्यहोम डेलिभरी नगरपालिका, पोषणमैत्री स्वास्थ्य संस्था र पोषणमैत्री स्थानिय शासन नगरपालिका घोषणा गरिने बताइएको छ।
सामुदायिक विद्यालयका कक्षाकोठाहरुलाई सूचना प्रविधि, विद्यार्थीमैत्री, शिक्षण सिकाइ अनुकुल बनाउने, विद्यालयमा कार्यरत महिला शिक्षकहरु कानून बमोजिम प्रशुति विदामा बसेको अवस्थामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षको रुपमा परिचालन गर्ने सैनामैना मैना नगरपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा ४ वटा वडालाई बालमैत्री घोषणा गरिने पनि नीति कार्यक्रममा उल्लेख छ।

