२०८३ असार १५ गते, सोमबार ००:०२
  • लुम्बिनी आएका पर्यटकलाई यसरी आकर्षित गर्न सकिन्छ बुटवलमा

    सुदीप भण्डारी

    पश्चिम नेपालको प्रमुख शहर बुटवल र देशकै मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी दुबै रुपन्देही जिल्लामा रहेका छन् । तर बुटवल र लुम्बिनीको पर्यटकीय सम्बन्ध भने केही कम्जोर छ । लुम्बिनीमा वर्षको १० लाख बढि स्वदेशी र विदेशी पर्यटकहरु आउने गरेका छन् । उनीहरु मध्ये केहीलाई बुटवलका गन्तव्य देखाउन सक्ने हो भने यहाँको बजार चलायमान बन्न सक्छ । यस्तै बाहिरबाट आएका पर्यटकहरुलाई बुटवल घुमाएर लुम्बिनी भ्रमण गराउन पनि सकिन्छ । बुटवलका जनप्रतिनिधि, पर्यटन व्यवसायी, अन्य उद्योगी व्यवसायी, अभियान्ता र सरोकारवालाहरुले चासो दिने हो भने बुटवल र लुम्बिनीको पर्यटकीय सम्भावना बढाउन सकिन्छ । साथै लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याइ यहाँका गन्तव्य घुमाउन सकिन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

    बुटवल लुम्बिनी सिधा सार्वजनिक यातायात

    बुटवल र लुम्बिनीको पर्यटकीय सम्बन्ध बढाउनको लागि सिधा सार्वजनिक अति आवश्यक छ । अहिले बुटवलबाट लुम्बिनी जानको लागि दिनमा एक पटक मात्र बस सेवा सञ्चालनमा छ । विहान सवा ८ बजे गोलपार्कबाट अस्पताललाईन, राजमार्ग चौराह भैरहवा हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालिको बस सञ्चालन लुम्बिनी पुग्ने गरेको छ । त्यस बाहेक विचमा झर्न नपर्ने गरि लुम्बिनी पुग्नको लागि अरु बस छैन । विहान एक पटक बाहेक अन्य समयमा लुम्बिनी जानको लागि सुरुमा बुटवलबाट भैरहवा जाने बस चढ्नुपर्छ । भैरहवामा ओर्लेर अलिकती हिडेपछि लुम्बिनी जाने बस चढ्ने ठाउँमा पुग्न सकिन्छ । अर्को बस चढेर लुम्बिनी पुग्नुपर्ने बाध्यता छ । लुम्बिनीबाट सार्वजनिक यातायातमा बुटवल आउन पनि सहज छैन । भैरहवामा गाडी परिवर्तन गरेर आउनुपर्ने बाध्यता छ ।
    कम्तीमा एक एक घण्टामा बुटवलबाट लुम्बिनी जान र लुम्बिनीबाट बुटवल आउन सिधा बस सञ्चालन हुन्थ्यो भने बुटवलमा पनि पर्यटकीय चहलपहल बढ्न सक्छ ।
    अहिले बुटवलमा थुप्रै स्तरिय होटलहरु खुलेका छन् । सिधा बस चलेमा देशका विभिन्न ठाउँबाट लुम्बिनी जान भनेर आएका कतिपय बुटवलमा बस्थे । यहीबाट विहान लुम्बिनी गएर घुमेर साँझ बुटवल बस्नेगरि नै फर्किन सक्थे । त्यस्तै लुम्बिनी आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि बस्नको लागि बुटवल आउन सहज हुने थियो । बुटवलबाट लुम्बिनी चल्ने बस पर्यटन मैत्री सुविधा सम्पन्न हुन आवश्यक छ । बुटवल उपमहानगरपालिका, यहाँका यातायात व्यवसायी, पर्यटन व्यवसायीहरु बसेर बुटवल–लुम्बिनी सिधा सार्वजनिक यातायात बारे छलफल गरि अघि बढ्न सकिन्छ ।

    प्रवद्र्धनात्मक कार्यक्रम र टुर प्याकेज

    बुटवल र लुम्बिनीको पर्यटकीय सम्बन्ध बढाउन र लुम्बिनी आएका पर्यटकलाई बुटवलमा आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रमहरु पनि आवश्यक छ । बुटवलका पर्यटन व्यवसायीहरुले यहाँका गन्तव्यहरुको प्रचार प्रसार र प्रवद्र्धन कार्यक्रम गर्नुपर्छ। फूलबारी, जितगढी, पुरानो बटौली बजार, सिद्धबाबा, रामापिथेकस पार्क, हिलपार्क, लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार बुटवलका मुख्य पर्यटकीय गन्तव्य हुन् । यी गन्तव्यहरुको प्रचार प्रसारको लागि बुटवलका होटल तथा पर्यटन व्यवसायीहरु अग्रसर हुनुपर्छ। बुटवलका गन्तव्यहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्दा लुम्बिनीलाई जोडेर गर्दा प्रभावकारी हुन्छ।

    त्यसको लागि यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले बुटवल र लुम्बिनीका गन्तव्यलाई समेटेर प्रवद्र्धनात्मक अभियान सञ्चालन गरि टुर प्याकेज घोषणा गर्नुपर्छ। यसो गर्दा लुम्बिनी आएका पर्यटकहरुलाई बुटवलमा आकर्षित गर्न सकन्छ। घुमौं बुटवल घुमौ लुम्बिनी अभियान नाम दिएर पर्यटन प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्न सकिन्छ। त्यस अनुसारका टुर प्याकेजहरु बनाउन सकिन्छ । उदाहरणको लागि एक रात दुई दिने प्याकेजमा पहिलो दिन बुटवल आउने, सो दिन बटौली, फूलबारी, जितगढी, केबलकार लगायतका ठाउँ घुम्ने दोस्रो दिन विहान लुम्बिनी जाने प्याकेज बन्न सक्छ । त्यस्तै पहिलो दिन लुम्बिनी घुमेर बेलुका बस्न बुटवल आउने, भोलिपल्ट बुटवलका उल्लेखित गन्तव्य घुम्ने अर्को प्याकेज बन्न सक्छ ।

    यस्तै दुई रात ३ दिनको प्याकेजमा पहिलो दिन बुटवलका गन्तव्य घुम्ने दोस्रो दिन विहान केबलकार जाने, दिउसो लुम्बिनी जाने सो दिन लुम्बिनीमै बसेर अर्को दिन बुद्ध परिपथ घुम्ने गरि प्याकेज बन्न सक्छ । पहिलो दिन लुम्बिनी घुमेर बेलुका बस्न बुटवल आउने, दोस्रो दिन बुटवलका गन्तव्यहरु घुम्ने बेलुका बुटवल बस्ने र तेस्रो दिन पाल्पा जाने गरि अर्को प्याकेज पनि बन्न सक्छ । बुटवलमा पर्यटकीय चहलपहल बढाउने हो भने यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले प्रवद्र्धनात्मक अभियान र प्याकेज सञ्चालन गर्नैपर्छ । त्यसको लागि बुटवल उपमहानगरपालिकाले समन्वय र सहयोग गर्नुपर्छ ।

    यसै गरि बुटवल र लुम्बिनीको पर्यटकीय सम्बन्ध विस्तार गर्न बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच पनि सम्बाद र सहकार्य हुन आवश्यक छ । त्यसै गरि यहाँका पर्यटन व्यवसायी र लुम्बिनीका पर्यटन व्यवसायीहरुबीच पनि सहकार्य आवश्यक छ ।